इजरायल | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इजरायल शाखा गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। मिति २०२५ अगस्ट ६ बुधवार भर्चुअल माध्यम मार्फत सम्पन्न बैठकले निर्वाचन संयोजक चयन गर्दै प्रारम्भिक चरणको महत्वपूर्ण निर्णय गरेको हो।
बैठकमा जेष्ठ सदस्य देबी माया पाण्डेको अध्यक्षतामा छलफल सुरु भई, उपस्थित बहुमत सदस्यहरूको सर्वसम्मत निर्णय अनुसार खेमराज जमरकट्टेललाई निर्वाचन संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको हो। उनले अब इजरायलमा रास्वपाको औपचारिक समिति निर्माणका लागि आवश्यक निर्वाचन प्रक्रिया, समन्वय तथा सम्पूर्ण तयारीको जिम्मेवारी वहन गर्नेछन्।
बैठकमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको उल्लेखनीय सहभागिता थियो। नामावलीमा झापा, चितवन, काठमाडौंदेखि कास्की, सिन्धुली, धादिङ, मोरङ, काभ्रेपलान्चोक, रामेछापजस्ता जिल्लाका सदस्यहरू सहभागी भएका थिए।
बैठकको निर्णय अनुसार निर्वाचन समिति गठनको घोषणा गर्दै संयोजक खेमराज जम्मर कट्टेल, सदस्य–सचिव: कृष्ण थापा र सदस्य: मुना सिटौला गरि तीन सदस्यीय निर्वाचन समिति तयार गरिएको छ ।
संयोजक जमरकट्टेलले संयोजकको जिम्मेवारी निष्पक्ष, पारदर्शी र जिम्मेवार ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै, निर्वाचन समितिबाट आवश्यक थप सूचना र जानकारी क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।
इजरायलमा कार्यरत नेपालीहरू माझ राजनीतिक सचेतना अभिवृद्धि र संस्थागत सहभागिता विस्तारका दृष्टिकोणले यो प्रक्रिया महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com