तेल अभिव, इजरायल। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) इजरायलले आफ्नो आगामी २०२५-२०२७ कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ। यस पटकको निर्वाचन प्रक्रियामा अध्यक्ष र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवारहरूको मनोनयन दर्ता भए पनि, अन्तिम समयमा भएको ऐतिहासिक सहमतिका आधारमा सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्।
निर्वाचन समिति २०२५ ले गत जुलाई २५, २०२५ (शुक्रवार) मा निर्वाचन सूचना जारी गर्दै अध्यक्ष र कोषाध्यक्ष पदमा एकभन्दा बढी उम्मेदवारी परेको जानकारी गराएको थियो, जसले गर्दा मतदानको तयारी अघि बढेको थियो। तर, जुलाई ३०, २०२५ को साँझ, सबै उम्मेदवारहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य, निर्विरोध निर्वाचित पदाधिकारीहरू, २०२३-२०२५ का कार्यसमिति प्रतिनिधिहरू एवं निर्वाचन समिति प्रतिनिधिहरूको रोहबरमा एक महत्त्वपूर्ण छलफल सम्पन्न भयो। यस छलफलपश्चात्, संस्थागत स्थायित्व, आपसी समझदारी र समुदायको बृहत्तर हितलाई प्राथमिकतामा राख्दै सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुंग्याउने निर्णय गरियो।
निर्वाचन समितिकी संयोजक विमला (नितु) खतिवडाका अनुसार, यो निर्णय एनआरएनएको सहमति, समन्वय र एकताको जीवन्त प्रतिबिम्ब हो। उहाँले निर्वाचनभन्दा पनि सहमतिको बाटो रोज्नुले संस्थाको दीर्घकालीन सुदृढीकरणमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन समितिले यस प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण उम्मेदवार, प्रतिनिधि, स्वयंसेवक र इजरायलवासी नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहमतिको संस्कृति कायम रहोस् भन्ने शुभकामना दिएको छ।
नव-निर्वाचित कार्यसमितिका पदाधिकारीहरू यस प्रकार छन्:
* ICC सदस्य: अलि महम्मद मियाँ
* अध्यक्ष: गणेश गिरी
* वरिष्ठ उपाध्यक्ष: भृकुटी वानियाँ
* प्रथम उपाध्यक्ष: तेज ब. गुरुङ
* उपाध्यक्षहरू: दिलीप सुन्दास र मञ्जु भुजेल
* महिला उपाध्यक्ष: निर्मला बुढाथोकी
* महासचिव: चित्रबहादुर कार्की
* सचिव: केशव राज खनाल
* सहसचिव: अशोक कुमार थोकर
* कोषाध्यक्ष: धर्मेन्द्र सिङ पुन
* महिला संयोजक: पवित्रा गौतम
* सदस्यहरू: राजन दुवाडी, नकुल लामिछाने, खुमराज सापकोटा, सुमित्रा दवाडी, सबु बास्तोला, सबिन पन्त, गणेश तमाङ, र दोलख गुरुङ
यस ऐतिहासिक सर्वसम्मत नेतृत्व चयनपश्चात्, इजरायलस्थित नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै उनीहरूलाई इमान्दारीपूर्वक संगठनात्मक भूमिका निभाउन अनुरोध गर्नुभएको छ। एनआरएनएका आइसीसी सदस्य तथा पूर्व पदाधिकारीहरूले पनि नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। यस सर्वसम्मत नेतृत्व चयनले इजरायलमा रहेका नेपाली समुदायको हितका लागि साझा र एकताबद्ध प्रयास गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com