तेल अभिव, इजरायल — इजरायलका लागि नेपाल सरकारका आवासीय राजदूत धनप्रसाद पण्डित र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका बन्धक मामिलासम्बन्धी विशेष सल्लाहकार ब्रिगेडियर जनरल गाल हिर्सबीच एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
तेल अभिवस्थित एक विशेष कूटनीतिक कक्षमा करिब डेढ घण्टासम्म चलेको छलफलमा मानवीय सरोकार, कूटनीतिक पहलहरू, र बन्धकसम्बन्धी पछिल्लो अवस्थाबारे गहिरो संवाद भएको थियो ।
भेटका क्रममा राजदूत पण्डितले नेपाली युवा विपिन जोशीको अवस्था विशेष प्राथमिकताका साथ उठाउँदै विगत दुई वर्षदेखि हमासद्वारा बन्धक बनाइएका विपिनको ठोस जानकारी अझैसम्म उपलब्ध नभएको विषयमा गम्भीर चासो व्यक्त गरे।
उहाँले विपिनको शीघ्र र सुरक्षित रिहाइको लागि इजरायली सरकारसँग विशेष अनुरोध गर्नुका साथै यस विषयमा दुवै देशबीच निरन्तर समन्वय र सहयोग आवश्यक रहेको स्पष्ट पारे।
यस अतिरिक्त, राजदूत पण्डितले विपिनका पीडित परिवारका सदस्यहरूलाई इजरायल वा अमेरिका ल्याउने सम्भाव्यता, तिनका लागि आवश्यक मानवीय पहल र उच्चस्तरीय समन्वयका सम्भावित मार्गहरूबारे पनि ब्रिगेडियर हिर्ससँग खुलेर कुराकानी गरेका थिए।
यो उच्चस्तरीय भेटवार्तालाई नेपाल–इजरायलबीचको सहकार्यको दृष्टिले महत्वपूर्ण कूटनीतिक प्रगतिको रूपमा हेरिएको छ, जसले भविष्यमा द्विपक्षीय सम्बन्धमा अझ सशक्तता ल्याउने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com