तेल अभिव, इजरायल — नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको आयोजनामा र महासंघमा आबद्ध विभिन्न सदस्य संस्थाहरूको सह–आयोजनामा आगामी १५ अगस्ट २०२५, शुक्रबार साँझ ३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने भएको छ।
“विश्वका आदिवासी जनजाति एक होऔं, आफ्नो भेषभूषा, भाषा, लिपि, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गरौं” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रम साँझ ७:३० बजे देखि तेल अभिवस्थित लेभेन्स्की पार्क (फुटसल ग्राउण्ड) मा सम्पन्न हुनेछ।
कार्यक्रममा विविध आदिवासी झाँकी, मौलिक नृत्य, सांस्कृतिक प्रस्तुतिहरू, साथै परम्परागत खानाका परिकारहरू प्रस्तुत गरिनेछ। सांस्कृतिक विविधता र पहिचानको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिने यस उत्सवमा शुभकामना आदान–प्रदान, मेलमिलाप र सौहाद्र्रपूर्ण वातावरणको सन्देश दिइने आयोजकहरूले जनाएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले इजरायलभर स्थापित जातीय, धार्मिक, सामाजिक, साहित्यिक तथा राजनीतिक संघ–संस्था, सञ्चारकर्मीहरू र विविध पेशामा संलग्न सम्पूर्ण नेपालीभाषी समुदायलाई कार्यक्रममा उपस्थित भई एकआपसमा संस्कृति, भाषा र पहिचानको सम्मान व्यक्त गर्न हार्दिक अनुरोध गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com