नेपाल इजरायल डट कम / इजरायल

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले हालै आफ्नो नवौँ अधिवेशनको तयारी स्वरूप नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचार संहिता जारी गरेको छ ।
यो घडी, इजरायल भूमिमा रहेका गैर आवासीय नेपालीका साझा भावना र भविष्यको मार्गचित्र कोर्ने नेतृत्व कस्तो हुनुपर्छ भन्ने गम्भीर विमर्शको केन्द्रबिन्दु बनेको छ । यसै सन्दर्भमा, NRNA संस्थालाई इजरायलमा औपचारिक रूपमा दर्ता गराएर एउटा ऐतिहासिक कोसे ढुङ्गा पार गराउन सफल वर्तमान अध्यक्ष श्री कृष्ण भण्डारीको भावी नेतृत्वप्रतिको अपेक्षालाई केलाउनु हामी सबैका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी हुनेछ ।
अध्यक्ष भण्डारीको मनमा समावेशी र समष्टिगत नेतृत्वको परिकल्पना छ जसले इजरायलमा छरिएर रहेका सम्पूर्ण राजनीतिक, जातीय, धार्मिक तथा सामाजिक संघसंस्थाहरुलाई एकै छातामुनि समेटेर अगाडि बढ्न सकोस् । उहाँको दृष्टिमा, प्रवासमा मिलेर सामाजिक सांस्कृतिक कार्यहरू गर्ने, अप्ठेरोमा परेका नेपालीलाई सरसहयोग गर्ने, विदेशमा आर्जेको सीप र लगानी नेपालका लागि लगानी गर्ने भन्ने मूल मर्मका साथ स्थापना भएका संस्थाको साँचो अर्थमा त्यो मर्मलाई वैचारिक र सामाजिक रूपमा बुझ्न सक्ने नयाँ नेतृत्व आउनुपर्छ भन्ने छ ।
अध्यक्ष भण्डारीले एन आर एन ए इजरायलमा कुनै पनि राजनीतिक प्रभावबाट मुक्त भएर स्वतन्त्र कार्य सम्पादन गर्न सक्ने नेतृत्व चाहनु हुन्छ । प्रवासमा रहेका नेपालीहरूमा गुट उपगुट र राजनीतिक प्रतिशोध अनि भेदभावपूर्ण स्थिति बढिरहेको अवस्थामा स्वतन्त्र र निष्पक्ष नेतृत्वको चाहना सान्दर्भिक देखिन्छ । एन आर एन ए आफैमा गैर-नाफामूलक, तथा गैर-राजनैतिक सामाजिक संस्था हो । नितान्त समाजसेवाको भावले स्थापित सेवामूलक संस्था एन आर एन ए मा संस्थाको आडमा गरिने राजनीतिक क्रियाकलाप विधानत: वर्जित नै गरिएको छ ।
उहाँ यो भावनालाई अझ परिष्कृत गर्दै एनआरएनए इजरायललाई एक बलियो सङ्गठनका रूपमा उभ्याउन चाहनुहुन्छ । इजरायलमा रहेका विभिन्न सङ्घ संस्थाहरूले समुदाय र सिङ्गो राष्ट्रप्रतिको जुन माया देखाएर काम गरिरहेका छन्, त्यो भावनाको प्रशंसा गर्दै सबैलाई मिलाएर अझ सशक्त बनाउँदै अगाडि बढ्न सक्ने नेतृत्व नै उहाँको अपेक्षाको केन्द्रमा छ ।
समाजलाई सही दृष्टिकोणले बुझ्ने व्यक्तिहरू समाजमा अगाडि आउनुपर्छ र स्थापित हुनुपर्छ । यसले प्रवासमा रहेको नेपाली समाजलाई विभाजन होइन, अझ सबैलाई समेटेर लैजाने भावनाको विकास गराउन मद्दत पुगोस् । उहाँ चाहनुहुन्छ कि यसले नेपालीको सङ्ख्या निकै सानो भएको इजरायल प्रवासमा रहेको नेपाली समाजलाई अझ कसिलो बनाओस् । यो केवल सङ्ख्याको कुरा होइन, बरु सम्बन्धको कसिलोपन र भावनाको एकाकारताको कुरा हो ।
एनआरएनए आफैँमा एउटा अत्यन्तै परिपाटी, पद्धति र प्रणालीमा चल्ने संस्था हो, जसका आफ्नै मूल्य-मान्यता र सिद्धान्तहरू छन् । यसको मूल मर्म भनेकै नेपालबाहिर रहेका गैर आवासीय नेपालीहरूको जोस, जाँगर, उत्साह, सीप र धनलाई राष्ट्रको हितमा लगानी गर्नु हो । यद्यपि, संस्थाको केन्द्रीय स्तरमै केही मतभेदहरू नभएका भने होइनन् जसले केही मानिसमा संस्थाप्रति नै वितृष्णा पैदा गरेको अवस्था पनि छ, तथापि अध्यक्ष भन्डारी आउने नेतृत्वले संस्थाको मूल सिद्धान्त र राष्ट्र प्रेमको भावनालाई गहिरोसँग बुझेको र सामाजिक रूपमा पनि उत्तिकै सक्रिय भएको हुनुपर्छ ।
उहाँको मान्यता छ कि विचार सिद्धान्तलाई आत्मसात् नगरी गरिने हरेक कार्य अपूर्ण रहन्छ, र राष्ट्र प्रेम बिनाको सेवा केवल औपचारिकता मात्र हुन्छ ।
यो पनि पढ्नुहोस :
इजरायलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद इजरायल विधिवत रुपमा दर्ता
समग्रमा भन्नुपर्दा, अध्यक्ष श्री कृष्ण भण्डारीको अपेक्षा केवल एक नयाँ अध्यक्षको चयनमा मात्र सीमित छैन । उहाँ त एउटा यस्तो स्थितिको परिकल्पना गर्नुहुन्छ जहाँ इजरायलमा रहेका गैर आवासीय नेपाली समुदाय एक ढिक्का भएर मातृभूमिको सेवामा र प्रवासमा रहेका नेपालीहरूको हितमा समर्पित हुन सकुन् । उहाँ चाहनुहुन्छ कि आउने नेतृत्वले संस्थालाई अझ परिष्कृत बनाउँदै NRN को मूल्य मान्यता र सिद्धान्त अनुसार अगाडि बढाउन सकोस् ।
नयाँ नेतृत्वले प्रवासमा रहेका नेपालीका दुःख र आवश्यकतालाई गहिरोसँग बुझेर उनीहरूको आशाको दियो बाल्न सकोस्, र इजरायल प्रवासबाट नेपालीपनको सुगन्ध अझ प्रगाढ बनाउन सकोस् ।
नवौँ अधिवेशनको सङ्घारमा उभिएको एनआरएनए इजरायलका लागि आउने नेतृत्व केवल चुनावी प्रतिस्पर्धाको परिणाम मात्र होइन, बरु इजरायल प्रवासमा रहेका नेपालीका लागि एउटा एन आर एन को विश्वव्यापी अभियानमा निस्वार्थ रूपमा समाहित हुने अवसर हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com