इजरायल सरकारद्वारा नेपाली सामाजिक संस्था (NRNA NCC इजरायल) लाई औपचारिक मान्यता प्रदान गरिएको छ । NRNA इजरायल , इजरायलमा यसरी मान्यता पाउने पहिलो नेपाली गैर सरकारी संस्था भएको छ ।
इजरायल/जेरुसलेम -गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायललाई इजरायलली सरकारले २२ जनवरीमा नेपाली सामाजिक संस्थाको रुपमा मान्यता प्रदान गरेको छ ।
संघका महासचिव अलि महम्मद मियाँले लामो समयदेखिको प्रयासपश्चात संघलाई इजरायल सरकारको एनजिओको रुपमा दर्ता गर्न सफल भएको जानकारी दिएका छन् ।
सन् २००७ मा डा. विष्णु चापागाईको अध्यक्षतामा तदर्थ समिति गठन गर्दै संस्थापक अध्यक्ष भुवन सिंह कुवंरको अध्यक्षतामा पहिलो कार्यसमिति चयन गरी स्थापना गरिएको एनआरएनए-एनसिसी इजरायललाई स्थापनाको १६ बर्ष पछि २२ जनवरी २०२४ आइतवार विधिवत रुपमा इजरायल सरकारसंग दर्ता गर्न आफूहरु सफल भएको महासचिव मियांले बताएका छन् ।
२९ अगस्त २०२३ मा सम्पन्न संस्थाको आठौं राष्ट्रिय महाधिवेशन मार्फत निर्वाचित कार्यसमितिको पहिलो बैठकको पहिलो बुँदामै संस्थालाई इजरायल सरकारसंग दर्ता गराउन यथाशक्य पहल गरिने निर्णय गरिएको थियो, सोही अनुरुप संस्था दर्ताको लागि आवश्यक पहल र सहयोगका लागि इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसंग दूतावासमा पटक पटक छलफल भएको र राजदूत रिजालकै विशेष सक्रियतामा दर्ता प्रक्रिया सफल भएको महासचिव मियाँले बताएका छन् ।
इजरायल सरकारको कानून मन्त्रालय अन्तरगत सहकारी प्राधिकरण अन्तरगत एसोसियन कानून १९८० अन्तरगत गैर आवासिय नेपालीहरुको पहिलो संस्थाको रुपमा (NON RESIDENT NEPALI ASSOCIATION, ISRAEL) दर्ता प्राप्त भएको हो ।
संस्था स्थापनाको करिव १६ बर्षपश्चात संस्थालाई इजरायल सरकारसंग जोडेर रोजगारी, व्यवसाय, अध्ययन लगायत विभिन्न शिलशिलामा इजरायलमा रहेका नेपालीहरुको लागि र एनआरएनएको भावना अनुसार संस्थालाई अगाडि वढाउन यो उपलव्धिले भरपुर सहयोग गर्ने विश्वास लिएको संघका अध्यक्ष श्रीकृष्ण भण्डारीले बिश्वाश व्यक्त गरेका छन् । भण्डारीले संस्था दर्ता प्रक्रियामा सहयोग गर्ने राजदूत रिजाल लगायत सबैमा सधन्यवाद आभार ज्ञापन गरे ।
इजरायलका लागि नेपाली राजदूत रिजालले नेपालीहरुको संस्थाको रुपमा इजरायल सरकारसंग एनआरएनएलाई जोड्नु उपलव्धिमुलक कार्य भएको बताउदै यस कार्यमा सफलता प्राप्त गरेकोमा एनआरएनए इजरायलको सम्पूर्ण टिमलाई वधाई ज्ञापन गर्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com