तेलअभिव, इजरायल । यस वर्ष इजरायलमा ‘तीज धमाका २०८२’ को भव्य तयारी सुरु भएको छ । प्रवासी सृजनशिल महिला समूह इजरायलले यस वर्षको तीजमा नेपालबाट कलाकारहरू निमन्त्रणा गरि “तीज धमाका २०८२” मनाउन लागेको हो ।
‘महिला स्वावलम्बन तथा समाज सेवा’ लाई आफ्नो मूल नारा बनाई स्थापित, महिलाहरू मात्रै कार्यसमितिमा रहेको प्रवासी सृजनशिल महिला समूह इजरायलले आयोजना गरेको यो विशेष सांस्कृतिक कार्यक्रम यही आगामी अगष्ट १५ तरिख, शुक्रबार बेलुका ८ बजेबाट तेलअभिवको हागना-१३५ मा रहेको बेत बार्बर हलमा हुनेछ । यस पर्वमा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र गायिका जानुका तामाङले आफ्नो मधुर प्रस्तुति दिनेछन् । अघिल्ला वर्षहरूमा तीज पर्व पारेर यस्ता सांस्कृतिक कार्यक्रम अन्य संघसंस्थाहरूले गर्दै आए पनि यस वर्ष भने महिलाहरूको सशक्त नेतृत्व र व्यवस्थापनमा तीज विशेष कार्यक्रम हुन गइरहेको हुनाले यो आयोजनाले नेपाली समाजमा थप महत्त्व बोकेको छ ।
आयोजकका अनुसार, ‘तीज धमाका २०८२’ दर सहितको सांस्कृतिक कार्यक्रम हुनेछ । नेपालका कलाकारहरूसँगै इजरायलमै कार्यरत अन्य नेपाली कलाकारहरूलाई समेत समेटेर कार्यक्रमलाई अझ भव्य र आकर्षक बनाइने जनाइएको छ । प्रवासको भूमिमा पनि नेपाली कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने यो पवित्र प्रयासमा सहभागी भई, दर खाँदै र छमछमी नाचेर तीज मनाउन इजरायलमा कार्यरत सम्पूर्ण नेपाली एवं नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजकले हार्दिक अनुरोध गरेको छ । यो सांस्कृतिक मेलाले परदेशको भूमिमा पनि मातृभूमिको न्यानो स्पर्श दिने र आपसी सद्भाव तथा भातृत्वको भावना बढाउने अपेक्षा गरिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com