तेल अविव – इजरायलको नेपाली समुदायमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) इजरायलको नवौँ महाधिवेशनको चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । नेपाली डायस्पोराको यस प्रतिष्ठित छाता संगठनको आगामी २०२५–२०२७ कार्यकालको नेतृत्वका लागि दुई सशक्त व्यक्तित्वले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्: संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक गणेश गिरी र वर्तमान महासचिव अलि महम्मद मियाँ । यी दुई अनुभवी उम्मेदवारहरूले इजरायलको एनआरएनए निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।
अध्यक्ष कस्तो नेतृत्व चाहन्छन् ??

इजरायलको नेपाली समुदायमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) इजरायलमा हुने अबको नेतृत्व इजरायलमा रहेको नेपाली समुदायको हित र साझा सामुदायिक विचारलाई गहिराइसँग आत्मसात् गरेको, सामाजिक रूपमा क्रियाशील, सक्रिय र जुझारु हुनुपर्ने साथै गैर आवासीय नेपाली सङ्घको राष्ट्र प्रेम, नेपालप्रतिको दायित्वजस्ता मूल मर्म र भावनालाई पनि सँगसँगै लैजान सक्ने नेतृत्वको अपेक्षा गरेको संस्थाका अध्यक्ष कृष्ण भण्डारी बताउँछन् ।
राष्ट्र प्रेम र प्रवासमा रहेको नेपाली समाजमा केही गरौँ भन्ने उत्कट अभिलाषा भएको साँच्चिकै इमानदार, सामाजिक रूपमा सक्रिय र वैचारिक रूपमा अब्बल नेतृत्व आजको आवश्यकता हो । उहाँले बताउनु भयो ।
गैरआवासीय नेपालीहरूको जोश, जाँगर, उत्साह, सीपलाई राष्ट्रको हितमा लगानी गर्न सक्ने तथा इमान्दार र पारदर्शी नेतृत्व आजको आवश्यकता रहेको अध्यक्ष भन्डारीले बताएका छन्। उहाँको अपेक्षा केवल नयाँ अध्यक्षको चयनमा मात्र सीमित नभई, सम्पूर्ण टीम इजरायलको नेपाली समुदायलाई एक ढिक्का पारेर मातृभूमिको सेवामा समर्पित गराउन सक्ने एक समावेशी र समष्टिगत नेतृत्व बनोस भन्ने रहेको देखिन्छ।
अध्यक्ष भण्डारीको कार्यकालमा एन आर एन ए इजरायलमा विधिवत् रूपमा दर्ता भएको थियो ।
नवीनता, पारदर्शिता र सशक्त नेतृत्वको नारासहित अलि महम्मद मियाँ मैदानमा

हालका महासचिव अलि महम्मद मियाँले २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रभावशाली उम्मेदवार मियाँले उम्मेदवारी घोषणा गर्दै आफू ‘पदको लागि मात्र नभई इजरायलमा रहेका नेपालीहरूको सुखदुःख, पीडा र समस्याहरूको समन्वय गरी समाधान गर्न प्रतिबद्ध रहेको’ बताएका छन् ।
मियाँले आफ्नो अपिलमा संस्थाको विधान र लक्ष्यअनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रुपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा आफू योग्य रहेको दाबी गरेका छन् । उनले विगतमा संघको २०१९–२०२१ र २०२१–२०२३ कार्यकालमा सचिव तथा २०२३–२०२५ कार्यकालमा महासचिवको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
आफ्नो कार्यकालमा संस्थाभित्र रहेका हरेक किसिमका विकृतिहरू, विसंगति र अनियमितताहरूलाई सुधार्ने दृढ बाचा गर्दै मियाँले संस्थाको नीति नियम र विधान विपरीत कार्य गर्न खोज्ने जो कोही पनि सजायको भागीदार बन्नुपर्ने मान्यता स्थापित गर्ने उद्घोष गरेका छन् । उनका मुख्य कार्ययोजनाहरूमा:
• नेपाली दूतावास, इजरायलमा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्ने ।
• युरोप क्षेत्र एवं अन्तर्राष्ट्रिय समितिसँग सकारात्मक सम्बन्ध स्थापित गर्दै ‘अवलोकन भ्रमण’ तथा नेपालीको हितमा रचनात्मक अनलाइन कार्यक्रमहरू सञ्चालन गर्ने ।
• जीटुजी, कृषि, र होम केयरगिभर लगायत सबै नेपाली कामदारहरूको पेशागत तथा कानुनी समस्या समाधानका लागि समन्वय गर्ने ।
• समय-समयमा अवलोकन भ्रमण, खेलकुद कार्यक्रम, कला प्रस्तुति सांस्कृतिक कार्यक्रम र चाडपर्व विशेष कार्यक्रमहरू आयोजना गर्ने ।
• अग्रजहरूको राम्रो कामलाई सम्मान गर्दै, उनीहरूको साथ, सुझाव र विश्वास लिएर एनआरएनए–इजरायललाई अझ प्रभावकारी, उत्तरदायी र सबै नेपालीहरूको साझा संस्था बनाउने ।
मियाँले इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूबाट अमूल्य सुझाव र सल्लाहको अपेक्षासमेत गरेका छन् ।
अनुभव र सेवाभावसहित पूर्व अध्यक्ष गणेश गिरीको पुनरागमन

अर्का प्रभावशाली उम्मेदवार एनआरएनए एनसिसि इजरायलको पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक गणेश गिरीले पुनः अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् [१]। उनी अध्यक्ष रहेको समयमा कोरोना महामारीको विकट संकटमा इजरायलमा रहेका नेपालीहरूलाई सजग गराउन र जीटुजी (G2G) मार्फत बेताबोत (वृद्धाश्रम) मा आएका नेपालीहरूलाई सान्त्वना दिनका लागि तत्कालीन राजदूतहरूसँग समन्वय गरी अभियानलाई सफल बनाउन अहम् भूमिका निर्वाह गरेका थिए ।
यसका साथै, तत्कालीन राजदूत अञ्जान शाक्यको पहलमा कोभिडको समयमा झन्डै २० करोडको मेडिकल सामग्री नेपाल पठाउने कार्यमा पनि गिरिको उल्लेखनीय भूमिका रहेको थियो । नेपालमा रहेका दिनदुःखीहरूको सेवामा सदैव तत्पर समाजसेवी गिरी, इजरायलमा रहेका नेपालीहरूको सहयोगका लागि पनि सधैँ क्रियाशील रहेको देख्न सकिन्छ । उनको उम्मेदवारीले संस्थालाई विगतको अनुभव र परिपक्वताका साथ अगाडि बढाउने दृष्टिकोणलाई प्रतिविम्बित गर्दछ।
यसरी दुई अनुभवी र सशक्त उम्मेदवारहरूको अध्यक्ष पदमा उम्मेदवारी घोषणासँगै, इजरायलको एनआरएनए निर्वाचन अभियान थप तीव्र र उत्साहपूर्ण बन्ने निश्चितप्रायः देखिन्छ। यस निर्वाचनले इजरायलमा रहेका नेपाली समुदायको हित र संस्थाको भविष्यका लागि नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।
यो पनि पढ्नुहोस:
एनआरएनए इजरायलको नवौं राष्ट्रिय महाधिवेशन निर्वाचन प्रक्रिया र आचारसंहिता सार्वजनिक: जुलाई २९ मा मतदान
एनआरएनए इजरायल निर्वाचन समितिद्वारा आगामी कार्यकालका लागि उमेदवारी सार्वजनिक
इजरायल, २६ जुलाई २०२५– गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायल निर्वाचन समिति २०२५ ले संघको आगामी कार्यकाल २०२५-०२७ का लागि विभिन्न पदमा परेका उमेदवारीहरूको सूची औपचारिक रूपमा सार्वजनिक गरेको छ। विधान बमोजिम विभिन्न पदमा उमेदवारीका लागि दरखास्त आह्वान गरिएपछि आज मिति २६ जुलाई २०२५, शनिवार दिनको १२:०० बजेको समयसिमा भित्र समिति समक्ष पर्न गएका उमेदवारीहरू सार्वजनिक गरिएको हो। विमला (नितु) खतिवडा द्वारा जारी विज्ञप्ति अनुसार समितिले अब यी उमेदवारीहरूमाथि दावी विरोध गर्न वा उमेदवारी फिर्ता लिन चाहनेहरूका लागि लिखित निवेदन दिने समय तोकेको छ।
दावी विरोध तथा उमेदवारी फिर्ताको प्रक्रिया:
निर्वाचन समितिले प्राप्त उमेदवारीहरू माथि कसैको दावी विरोध भए वा कुनै उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन चाहेमा **कारण र प्रमाण पुग्ने कागजातहरु सहित लिखित रुपमा निर्वाचन समिति समक्ष निवेदन दिन आह्वान गरेको छ**। दावी विरोध वा उमेदवारी फिर्ताको लागि nrnancc.israel@gmail.com मा इमेल मार्फत प्रेसित गरी वा ०५३६२७४२0७, ०५४-३१९७७९६ र ०५५-२९८०००० मा सम्पर्क गरी जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ। यो प्रक्रिया तोकिएको समय सिमाभित्र सम्पन्न गर्नुपर्नेछ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com