नेपाल इजरायल डट कम, तेल अभिव इजरायल: गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलको २०२५ (नवौं राष्ट्रिय महाधिवेशन) को निर्वाचन आगामी जुलाई २९, मङ्गलबारका दिन सम्पन्न हुने भएको छ। एनआरएनए इजरायल निर्वाचन समितिले जुलाई १९ मा बसेको बैठकले एनआरएनएको अन्तर्राष्ट्रिय विधान र नियमावलीको अधीनमा रही निर्वाचन कार्यविधि र आचारसंहिता तय गरी सार्वजनिक गरेको छ।
यस निर्वाचनका लागि निर्वाचन समितिले २५ बुँदे कार्यविधि जारी गरेको छ जसले उम्मेदवार मनोनयनदेखि मतदानसम्मका सम्पूर्ण प्रक्रियालाई समेटेको छ।
मुख्य निर्वाचन तालिका र प्रक्रिया:
-
मतदाता नामावली प्रकाशन: जुलाई २४ दिउँसो १२ बजेपछि राजदूतावास इजरायल (तेल अभिभ), एनआरएनए इजरायलको फेसबुक पेज, र इजरायलबाट सञ्चालित अनलाइन मिडियाहरुमार्फत गरिनेछ।
-
उम्मेदवारी दर्ता: जुलाई २५, शुक्रबार बिहानदेखि शनिबार १२ बजेसम्म हुनेछ। उम्मेदवारले निवेदनपत्र निर्वाचन समिति समक्ष दर्ता गर्नुपर्नेछ, जसमा एकजना प्रस्तावक र एकजना समर्थक अनिवार्य हुनुपर्नेछ।
-
उम्मेदवारको नामावली प्रकाशन: जुलाई २६, शनिबार राति १२ बजे एनसीसी इजरायलको फेसबुक पेज र इजरायलबाट सञ्चालित अनलाइन मिडियाबाट हुनेछ।
-
दाबी विरोध वा उजुरी: उम्मेदवारहरू प्रति कुनै कुराको विषयमा निर्वाचन आचार संहिता विपरीत गरेको शंका भएमा जुलाई २७, राति १२ बजेसम्म निर्वाचन समिति समक्ष अनलाइन मार्फत दाबी विरोध उजुरी गर्न सकिनेछ।
-
उम्मेदवारी फिर्ता लिने समय: जुलाई २८, सोमबार दिउँसो १२ बजेसम्म हुनेछ। उम्मेदवारी फिर्ता लिँदा बुझाएको दर्ता शुल्क फिर्ता नहुने र उक्त रकम संघको कोषमा दाखिला हुनेछ।
-
उम्मेदवारको अन्तिम नामावली प्रकाशन: जुलाई २८, सोमबार राति ११ बजे हुनेछ।
-
मतदान समय: निर्वाचनको दिन अर्थात् जुलाई २९ मा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म मतदान गर्न सकिनेछ। निर्वाचन स्थल र मतदान पेटिका रहेको स्थानमा निर्वाचन समितिका व्यक्तिहरू र उम्मेदवारका तोकिएका एजेन्ट प्रतिनिधिहरू मात्र रहने व्यवस्था गरिएको छ।
उम्मेदवारीका लागि योग्यता र पदहरू:
यस नवौं राष्ट्रिय अधिवेशनमा विभिन्न १३ पदहरूमा उम्मेदवारी दिन सकिनेछ:
आइ सी सी सदस्य प्रतिनिधि – १ जना
अध्यक्ष – १ जना
वरिष्ठ उपाध्यक्ष – १ जना
महिला उपाध्यक्ष – १ जना
उपाध्यक्ष – १ जना
महासचिव – १ जना
सचिव – १ जना
सहसचिव – १ जना
कोषाध्यक्ष – १ जना
सह कोषाध्यक्ष – १ जना
पुरुष प्रतिनिधि – १ जना
महिला प्रतिनिधि – १ जना
सदस्यहरू – ४ जना
अध्यक्ष पदका लागि विशेष योग्यता:
अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि कुनै पनि अघिल्लो गैर आवासीय संघ इजरायलको कार्यसमितिमा जुनसुकै पदमा रहेर काम गरेको व्यक्ति हुनुपर्नेछ। साथै, यदि कुनै व्यक्ति अन्य संघ, संस्था, वा संगठनको अध्यक्ष, सभापति, वा संयोजक पदमा आसिन रहेका भएमा निर्वाचनमा उम्मेदवार बन्नका लागि त्यो पदबाट राजिनामा दिनुपर्नेछ र राजिनामा पत्र उम्मेदवारी मनोनयन पत्रसँगै निर्वाचन समितिलाई बुझाउनुपर्नेछ।
उम्मेदवारका लागि सामान्य योग्यता:
इजरायलमा वैधानिक रूपमा भिसा भएको वा स्पेसल भिसा भएको नेपाली राहदानी वाहक व्यक्ति वा इजरायली आइडीवाहक नेपाली हुनुपर्नेछ।
एनआरएनएको सदस्यता लिएको हुनुपर्नेछ।
उम्मेदवारी पत्रमा पासपोर्ट साइजको फोटोसहित राहदानी र भिजाको फोटोकपी संलग्न गर्नुपर्नेछ।
इजरायलमा वैधानिक रूपमा बसेको हुनुपर्नेछ र इजरायल वा नेपालको संविधान वा कानुनविपरीत कुनै कार्य नगरेको वा कानुनले दोषी नठहराएको हुनुपर्नेछ।
कुनै फौजदारी अभियोगमा मुद्दा लागेको वा अर्थ मुद्दाको प्रक्रिया अदालतमा चलिरहेको व्यक्ति उम्मेदवार हुन पाउने छैन।
आवेदन फारम र दर्ता शुल्क:
उम्मेदवारहरूका लागि आवेदन फारम निर्धारित ढाँचामा वा हातले लेखेर पठाउन सकिनेछ। आवेदनमा उम्मेदवारको नाम, ठेगाना, सम्पर्क फोन नम्बर, उम्मेदवारी दिएको पद, दस्तखत, र तोकिएको रकम अनिवार्य हुनुपर्नेछ। आवेदन फारम निर्वाचन समितिका सदस्य सचिव अर्जुन बस्नेतलाई (०५४३१९७७९८) तेल अभिभमा भेटेर दिन सकिनेछ।
उम्मेदवारी दर्ता शुल्क अनिवार्य रूपमा नगद बुझाउनुपर्नेछ र यो रकम निर्वाचनमा जित वा हार जे भएपनि फिर्ता गरिने छैन। दर्ता शुल्क पद अनुसार निम्नानुसार तोकिएको छ:
आइ सी सी सदस्यका लागि: ३००० सेकेल
बरिस्ठ उपाध्यक्ष: १७०० सेकेल
उपाध्यक्ष: १५०० सेकेल
महासचिव: १५०० सेकेल
सचिव: १००० सेकेल
सहसचिव: ८०० सेकेल
कोषाध्यक्ष: १००० सेकेल
सह-कोषाध्यक्ष: ८०० सेकेल
महिला संयोजक: ८०० सेकेल
युवा संयोजक: ८०० सेकेल
सदस्यहरू: ६०० सेकेल
निर्वाचनको प्रकृति र आचार संहिता:
निर्वाचन गोप्य मतदानबाट हुनेछ। यदि कुनै पदमा आवश्यक भन्दा बढी उम्मेदवार नपरेमा सो पदमा मतदान गरिने छैन र निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। निर्वाचन भएको अवस्थामा धेरै मत प्राप्त उम्मेदवारलाई निर्वाचित घोषणा गरिनेछ।
निर्वाचनको मौन अवधिमा अर्थात् रातको ९ बजेबाट प्रत्यक्ष रुपमा उपस्थित कार्यक्रम वा सामाजिक सञ्जाल (फेसबुक) मार्फत लाइभ प्रचार प्रसार गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यदि यसको उल्लंघन गरेको प्रमाण भेटिएमा निर्वाचन समितिले आचार संहिता उल्लंघन ठहर गर्दै जरिवाना गराउने वा उम्मेदवारी रद्दसम्म गर्न सक्नेछ। उम्मेदवारहरू बीचको छलफल र सहमतिबाट सर्वसम्मतिले समिति गठन गर्ने प्रयास भएमा निर्वाचन समितिले सहयोगी भूमिका खेल्नेछ। सर्वसहमति बनेको खण्डमा जुलाई २९ को अधिवेशनबाट उम्मेदवारहरूलाई विजयी घोषणा गरी अधिवेशन सम्पन्न गरिनेछ।
निर्वाचन व्यवस्थापन र पर्यवेक्षण:
-
प्रत्येक प्यानलबाट दुई जना र स्वतन्त्र उम्मेदवारले एक जनाका दरले निर्वाचन समितिलाई सहयोग गर्न एजेन्ट प्रतिनिधिहरू अनिवार्य रूपमा उठाउनु पर्नेछ।
-
तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ, जसमा संयोजक नितु खतिवडा र सदस्यहरूमा अर्जुन बस्नेत र मञ्जु थपलिया रहनुभएको छ।
-
निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, र निष्पक्ष बनाउन एकजना प्रमुख पर्यवेक्षक सहित ४ देखि ६ जनासम्मको निर्वाचन पर्यवेक्षक प्रतिनिधिहरू राखिने व्यवस्था गरिएको छ। प्रमुख पर्यवेक्षकका रूपमा नेपाली राजदूतावास इजरायलबाट महामहिम राजदूतज्यू र अन्य पर्यवेक्षकहरूमा पूर्व आइसीसी सदस्यहरू तथा विभिन्न संघ संस्थाका नेतृत्वकर्ता समाजसेवीहरू लगायतका निकायहरूबाट प्रतिनिधिहरूलाई आमन्त्रण गरिनेछ। पर्यवेक्षक प्रतिनिधिहरू मतदान र मतगणना सम्पन्न भई विजयी उम्मेदवारहरूको नाम घोषणा र शपथ ग्रहण कार्यक्रम हुँदासम्म उपस्थित रहनेछन्।
-
सुरक्षा व्यवस्थाका लागि निर्वाचन स्थलको गेटमा भित्र र बाहिर एक-एक जना सुरक्षा गार्डको व्यवस्था गरिनेछ।
मतदाताका लागि जानकारी:
-
मत हाल्न जाने व्यक्ति नेपाली राहदानीबाहक भएको र मतदाता नामावलीको रसिद लिएको हुनुपर्नेछ वा एमआईएस (MIS) सिस्टमबाट फारम भरी डिजिटल कार्ड प्राप्त गरेको हुनुपर्नेछ।
-
मतदानका लागि निर्वाचन समितिको माताहतका एजेन्ट प्रतिनिधिबाट मत प्राप्त मतदाता रसिदको नम्बर, नाम, पासपोर्ट नम्बर, र नेपालको ठेगाना भएको चिटको आधारमा निर्वाचन समितिले प्रमाण ठिक भएपछि मतपत्र उपलब्ध गराउनेछ।
अनुशासनहीनतामा कडा कारबाही:
निर्वाचनमा उम्मेदवार वा मतदाता कसैले पनि कुनै खालको उत्श्रृंखल क्रियाकलाप गरेमा उम्मेदवारी रद्द गरिने वा मत हाल्ने व्यक्तिको मत हाल्ने अधिकारबाट वञ्चित गर्दै इजरायलस्थित सुरक्षाको सम्बन्धित निकायमा खबर गरी कडा भन्दा कडा कारबाही गरिनेछ।
निर्वाचन हुने स्थान आगामी सूचनामा उल्लेख गरिनेछ। निर्वाचनका लागि चाहिने आवश्यक सामग्रीहरू निर्वाचन समितिले आगामी दिनहरूमा सार्वजनिक गर्दै जानेछ।
एनआरएनए इजरायलले यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोगको अपेक्षा गरेको छ।
उम्मेदवारी दर्ताको नमुना आवेदन फारम यसप्रकार रहेको छ
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com