तेलअविव, इजरायल | जुलाई २४, २०२५
प्रवासी नेपाली मञ्च, इजरायलको तेस्रो राष्ट्रिय अधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली इजरायल आइपुग्नुभएको छ।
तेलअविव अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको स्वागतार्थ प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलकी इन्चार्ज तथा अध्यक्ष, महासचिव, सचिव, उपसचिव, अन्य पदाधिकारी, सदस्यगण तथा स्थानीय शुभेच्छुकहरू उपस्थित थिए।
नेता ज्ञवालीको इजरायल आगमनसँगै यहाँ स्थित प्रवासी नेपाली समुदायमा उत्साह र ऊर्जा थपिएको देखिएको छ । राष्ट्रिय राजनीतिका कुशल रणनीतिकारका रूपमा परिचित ज्ञवालीलाई स्वागत गर्दै प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष गीता सुवेदीले ” उहाँको उपस्थितिले मञ्चको अधिवेशन मात्र होइन, समग्र प्रवासी नेपाली आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व दिने विश्वास व्यक्त गरिन ।
संक्षिप्त सम्बोधनका क्रममा कमरेड ज्ञवालीले प्रवासी नेपालीहरूप्रतिको सम्मान व्यक्त गर्दै भन्नुभयो, “विदेशमा रहँदा पनि यहाँहरूले जसरी देशको माटोसँग सम्बन्ध नतोडी काम गरिरहनुभएको छ, त्यो प्रेरणादायी छ। अबको मार्गचित्र हो – सबल प्रवासी – समृद्ध नेपाल – सुखी नेपाल”
उहाँको आगमनलाई मञ्चले सङ्गठन सुदृढीकरण, वैचारिक संवाद र प्रवासी नेपालीका हकहित संरक्षणका दृष्टिकोणले ऐतिहासिक अवसरका रूपमा लिएको बताउँदै मञ्चका उपाध्यक्ष शिवराज खड्काले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र यस कार्यक्रमले नेतृत्व विकास, नीतिगत स्पष्टता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्याउने विश्वास गरे ।
प्रवासी नेपाली मञ्च इजरायलको अधिवेशन यही जुलाई २५ मा आयोजन हुने तय गरिएको छ। उक्त अधिवेशनमा सहभागिता जनाउन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति अध्यक्ष कमरेड सञ्जय थापा समेत इजरायल आइपुगेका छन्।
यो अधिवेशनले प्रवासी नेपालीहरूको सशक्त आवाज निर्माणमा एउटा नयाँ युगको थालनी गर्ने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com