नेपाल इजरायल डट कम
इजरायलमा रहेका नेपालीभाषी समुदायलाई फुटबल खेलमार्फत एकताबद्ध बनाउने उद्देश्यसहित झापा सुपर कप इजरायल–२०२५ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जुलाई १८, २०२५ मा हुने आयोजक क्लब झापा एफसी इजरायलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
झापा एफसी इजरायलका संस्थापक अध्यक्ष खेमराज जम्मर कट्टेलले पत्रकार सम्मेलनमा प्रतियोगिताको टाइटल स्पोन्सर झापाली समाज इजरायलका अध्यक्ष मुना अधिकारीबाट च्याम्पियन ट्रफी तथा पहिलो पुरस्कार आयोजकलाई हस्तान्तरण गरिएको बताए। प्रतियोगितामा सहभागी हुने आठ वटा नेपालीभाषी फुटबल क्लबका नाम, खेल तालिका र सञ्चालनका नियमबारे पनि सो सम्मेलनमा जानकारी गराइएको थियो।
प्रतियोगितामा सहभागी हुने आठ क्लबहरूमा झापा एफसी इजरायल, कायापलट एफसी, केवाईसी एफसी, राईजिङ स्टार एफसी, मनिपुर गोरखा एफसी, सेभेन स्टार हाईफा, युनाइटेड दार्जिलिङ र लायन तेलअविव एफसी रहेका छन्।
प्रतियोगिताको विजेता टिमलाई १० हजार ५ सय सेकल अर्थात करिब नेपाली ४ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ। दोस्रो हुने टिमलाई ५ हजार ५ सय सेकल अर्थात करिब नेपाली २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ। त्यसैगरी, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, टप स्कोरर, एमभिपि र राईजिङ स्टार लगायत विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिनेछन्।
साथै, झापा एफसी इजरायलले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै इजरायलमा स्थापित गोरखा क्रिकेट क्लबका संस्थापक अध्यक्ष राजु रिजाललाई १५ सेट जर्सी हस्तान्तरण गरेको छ।
झापा सुपर कप इजरायल–२०२५ को आयोजकहरूले यस प्रतियोगिताले इजरायलमा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सान्निध्य र मेलमिलाप बढाउने विश्वास व्यक्त गरेका छन्। प्रतियोगिता मैदानमा प्रतिस्पर्धा मात्र नभई मित्रता र एकता प्रगाढ बनाउने एउटा ठूलो अवसर हुने आयोजकको भनाइ छ।
प्रतियोगितामा भाग लिने क्लबहरूले तयारी पूरा गरिसकेका छन् र उत्साहका साथ खेल मैदानमा आफ्नो प्रतिभा देखाउन तत्पर छन्। प्रतियोगिताले नेपाली समुदायमा खेलकुद संस्कृतिको विकास र प्रवर्द्धनमा पनि योगदान गर्ने अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com