थाहा छैन भने गुगल गर!
देश बरबाद भयो, सरकार गधा हो!
सबै नेता चोर हुन !
यो नेताको अनुहारमा हेर्नुस्, भ्रष्टाचार लेखिएको छ!
फेसबुक खोलेको पाँच मिनेटमै हामी संसारका सबै विषयमा ‘एक्सपर्ट’ बनिसक्छौ । हामीलाई अब कसैले रोक्न सक्दैन। हामी अब न्यायाधीश हौ । हामी फैसला अब तुरुन्त दिन सक्छौ । किन कि हामीलाई सबै थाहा भइसकेको छ।
हिजोका दिनमा मुद्दा अदालतमा जान्थ्यो, आज स्टाटसमा जान्छ।
तपाईँको कुनै गोप्य कुरा भयो? चिन्ता नगर्नुहोस् तीन जना अनलाइन न्यायाधीशले अनुसन्धान गरिसकेका छन् ।
सबैको हातमा मोबाइल छ, मस्तिष्कमा अफवाह छ, अनि ओठमा फैसला … ।
उ दोषी हो १००% हो मैले त उहिले भनेको, हामीलाई त थाहा थियो ।
अब अदालतमा न्याय होइन, फेसबुकमा Like गन्ने दिन आएको छ।
राजनीति, धर्म, क्रिकेट तीन कुरा र तीन सय टिप्पणी
कुनै एक पोस्ट लेख्नुस्
देश बेचियो!
३०० कमेन्ट आउँछ, मैले त पहिल्यै भनेको !
फेरि लेख्नुस्
समीक्षा अधिकारी र एलिनाको कुराले दुखित बनायो !
केहीले समर्थन गर्छन्, केहीले भन्छन् पब्लिसिटी स्टन्ट !
बाँकीले सोध्छन् ड्रेस कहाँबाट किन्या हो ?
फेरि कुनैले लेख्छ
देश त हिन्दु राष्ट्र हुनुपर्छ!
अनि सुरु हुन्छ धार्मिक बहस, जुन अन्तमा गाली, मुख छोडाछोड, श्रद्धाञ्जली, रिप आदिमा पुगेर सकिन्छ। किन कि म न्यायाधीश, म वकिल, मैले भनेकै हो र हुनुपर्छ ।
हामी सबै न्यायाधीश, तर पढेका बुझेका छैनौ ।
हामीलाई कानुन थाहा छैन, संविधान कुन अनुच्छेदमा के लेखिएको छ भन्ने बुझ्दैनौँ, देशको राजनीति, समाज कुन दिशामा जाँदै छ थाहा छैन तर भावना बलियो छ, अनि भ्यूज चाहिएको छ।हामी हेडलाइन हेरेर सबै भनिदिन सक्छौ, किन पढ्नु पर्यो । यद्यपि यही लेखको हेडलाई पढेर पनि हामीले भनिसक्यौ, उसकै कुरा लेखेछ !
त्यसैले हाम्रो अदालत आफ्नै छ ।
न्यायाधीश – फेसबुक प्रयोगकर्ता
मुद्दा – ट्रेन्डिङ टपिक
प्रमाण – स्क्रिन सट
वकिल – स्टोरीमा मेन्सन
फैसला – शेयर, रि-शेयर, अनफ्रेन्ड, लाईक रियाक्ट
यदि तपाईं कुनै विषयमा मौन बस्नुभयो भने तपाईं कमजोर, कायर, बेकामे हो । तर यदि तपाईँले बिना बुझाई पोस्ट गर्नुभयो, लेख्नु भयो बोल्नु भयो भने तपाईं देश प्रेमी, जागरूक र क्रान्तिकारी नागरिक हो ।
सामाजिक सञ्जालमा बोल्नु नबोल्नुभन्दा, बोल्नै पर्ने दबाब खतरनाक छ।
यो दबाबले हामीलाई विचार होइन, प्रतिक्रिया दिने बानी बनायो।
अनि प्रतिक्रियामा, विवेक हरायो। अब ज्ञानभन्दा गाली धेरै भाइरल हुन्छ।
एक सच्चा सामाजिक न्यायाधीश बन्नका लागि के चाहिन्छ?
६ वटा टिकटक भिडियो हेर्नुहोस्, दुई चार मिनेट फेसबुक हेर्नुहोस्, दुई ओटा स्क्रिन सट राख्नुस् र एक कुनै फोटो हाल्दै लेख्नुस् देश त खतमै भयो, फेसबुक हेरि नसक्नु छ ! अनि अन्त्यमा #IStandWithTruth लेख्न नबिर्सनुहोस्
बस, तपाईँको न्याय जारी भयो!
के हामी साँच्चै न्याय खोज्दैछौं? कि मात्र रमाइलो?
हामी कुनै कलाकार वा कसैको फोटो वा उसका पोस्ट हेरेर उसको चरित्र थाहा पाउन सक्छौ । कसैको पुरानो भिडियो देखाएर वर्तमान भन्दिन सक्छौ । हामी त यस्ता न्यायाधीश हौँ, जो न्यायभन्दा ‘Like’ खोज्छौँ, तथ्यभन्दा ‘ट्रोल’ प्यारो मान्छौँ।
म न्यायाधीश, मैले भनेको हुनुपर्छ ! भन्नेहरूले कहिल्यै संविधान, कानुन पढ्दैनन्, तर फेसबुकको एल्गोरिदम जस्तै आफ्नै झुकावमा फैसला सुनाउँछन्।
अब देश सुधार्न संसद हैन, मोबाइल चार्जमा हुनुपर्छ।
सभ्य बहस हैन, रोचक र खरो टिप्पणी चाहिन्छ, नागरिक हैन, पोल खोल्ने र चियो चर्चा गर्ने पोष्टकर्ता चाहिन्छ।
खेमराज जम्मर कट्टेल
तेल अभिव, इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj