नेपाल इजरायल डट कम, इजरायल — पहिचान, अस्तित्व र पूर्ण अधिकारसहितको स्वायत्तता प्राप्तिको दृढ प्रतिबद्धताका साथ, नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) इजरायलले हालै आफ्नो १३ औँ वार्षिकोत्सव तथा साधारण सभालाई भव्यताका साथ सम्पन्न गरेको छ । इजरायलको माटालोन-७५, तेल अभिबमा नेपाल संवत् ११४५ दिलाथ्व नवमी, अर्थात् वि.सं. २०८२ असार २० गते शुक्रबार साँझ आयोजित यस समारोहले आदिवासी गौरव र एकताको सन्देश प्रवाहित गरेको छ ।
“आदिवासी पहिचान अस्तित्व र पूर्ण अधिकार सहितको स्वायत्तता प्राप्ति गर्ने हाम्रो प्रतिबद्धता र निरन्तरता” भन्ने मूल नाराका साथ आयोजित यस समारोहमा सहभागीहरूले आफ्ना मौलिक भेषभूषामा सजिएर आदिवासी परम्परा र संस्कृतिको अनुपम छटा प्रदर्शन गरेका थिए । स्थानीय कलाकारहरूद्वारा प्रस्तुत गरिएका विभिन्न जातीय नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रममा थप रौनक थपेको थियो, जसले इजरायलको भूमिमा नेपाली आदिवासी संस्कृतिको जीवन्तता झल्काएको थियो ।
नेफिन इजरायलकी निवर्तमान अध्यक्ष मनु श्रेष्ठज्यूको सभापतित्वमा सम्पन्न भएको यस महत्त्वपूर्ण कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत महामहिम प्राध्यापक धनप्रसाद पण्डितज्यूको प्रमुख आतिथ्य रहेको थियो । राजदूत पण्डित र निवर्तमान अध्यक्ष श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए, जसले समारोहको गरिमा अझ बढाएको थियो ।
समानुपातिक समावेशितामा आधारित नयाँ नेतृत्व
यसै अवसरमा नेफिन इजरायलले ने.सं. ११४५/११४६ (ई.सं. २०२५/२०२६) कार्यकालका लागि समानुपातिक समावेशिता अनुसार सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको नेतृत्व सूर्यबहादुर राना मगरले अध्यक्षका रूपमा सम्हालेका छन्, जो नेपाल मगर सङ्घ इजरायलबाट प्रतिनिधित्व गर्छन् । उनको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा विभिन्न आदिवासी समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले नेफिनको समावेशी चरित्रलाई थप बल पुर्याएको छ ।
नयाँ कार्यसमितिका पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष: सूर्य बहादुर राना मगर (नेपाल मगर सङ्घ इजरायल)
वरिष्ठ उपाध्यक्ष: सर्किनी ज्यावा ह्योल्मो (ह्योल्मो समाज इजरायल)
उपाध्यक्षहरू: लाक्पा लामा शेर्पा (शेर्पा सङ्घ इजरायल), अशोक थोकर तामाङ (नेपाल तामाङ घेदुङ इजरायल), बिन्दु तमुस्यो (तमु समाज इजरायल), ईन्दु लावती (किरात याक्थुङ चुम्लुङ इजरायल), किरात राई यायोख्खा~
महासचिव: बिमला श्रेष्ठ (राष्ट्रिय नेवा: खल: इजरायल)
प्रथम सचिव: विवश आले मगर (नेपाल मगर सङ्घ इजरायल)
सचिवहरू: फुर्वा गम्बु ह्योल्मो (ह्योल्मो समाज इजरायल), सेमासङ शेर्पा (शेर्पा सङ्घ इजरायल), इन्द्र जङ्ग तमु (तमु समाज इजरायल), शशीकला काङ्भा (किराँत याक्थुङ चुम्लुङ इजरायल), किरात राई यायोख्खा~ (राई)
कोषाध्यक्ष: सम्झना ब्लोन तामाङ (नेपाल तामाङ घेदुङ इजरायल)
सह-कोषाध्यक्ष: अमिरा श्रेष्ठ (राष्ट्रिय नेवा: खल: इजरायल)
यसका साथै, निवर्तमान अध्यक्ष मनु श्रेष्ठलाई प्रमुख सल्लाहकारमा चयन गरिएको छ भने जेसाङ शेर्पा, रोजी मोक्तान तामाङ, डिककुमार तमु, कमला कन्दवा, सुनिता श्रेष्ठ, मन मास्की राना मगर, र समीर श्याङ्बा ह्योल्मोलाई सल्लाहकारमा राखिएको छ । संरक्षक परिषद् सदस्यहरूमा नयन ईम्सोङ लिम्बु, नानीमाया योन्जन तामाङ, र कुमार आङ्देम्बे लिम्बु रहेका छन् ।
कार्यक्रममा नेफिन इजरायलको सफलताका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो, जसले सामूहिक प्रयासको महत्वलाई उजागर गरेको छ । कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक, नैतिक रूपमा दिनरात खटिने कार्यक्रम संयोजक निवर्तमान वरिष्ठ उपाध्यक्ष मन मास्कि राना मगर, संरक्षक परिषद् सदस्य तथा सल्लाहकारज्यूहरू, राष्ट्रिय समुदाय संस्थाका अध्यक्षज्यूहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू लगायत प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई नेफिन इजरायले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रमको नयाँ नेतृत्व र सशक्त कार्यसमितिको चयनसँगै आदिवासी जनजातिहरूको लक्ष्य र विचारलाई अझ सुदृढ बनाउँदै इजरायलमा रहेको नेपाली समुदायमा एकता र भाइचाराको सन्देश फैलाउन सकोस् भनी प्रमुख अतिथि राजदूत प्राध्यापक धनप्रसाद पण्डितले नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई शुभकामना दिनुभयो ।
प्रवासी भूमि इजरायलमा आदिवासी पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने सामूहिक सङ्कल्प सहित नयाँ नेतृत्वमा आवद्ध पदाधिकारीहरुले आदिवासी समुदायको हक अधिकारका लागि निरन्तर सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com