एजेन्सी — इरान र इजरायलबीच भइरहेको हालको हवाई आक्रमणको पृष्ठभूमिमा, सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर बनाइएका नक्कली तस्बिर र भिडियोहरू तीव्र गतिमा फैलिरहेका छन्। तीमध्ये केही सामग्रीहरू त करोडौँले हेरिसकेका छन्, जसले आम जनमानसमा भ्रम सिर्जना गरिरहेको छ।
तेल अभिवमा रहेको एजरेली भवन ढल्दै गरेको एउटा नक्कली तस्बिर उदाहरणका रूपमा उल्लेख गर्न सकिन्छ। उक्त तस्बिरमा तेलअविवस्थित दुईवटा अग्ला भवनहरूलाई इरानले प्रहार गरेको क्षेप्यास्त्रद्वारा ध्वस्त पारेको दृश्य देखाइएको छ। तर पछि पत्ता लाग्यो कि त्यो तस्बिर वास्तवमा एआईले सिर्जना गरेको हो।
त्यसैगरी इजरायलको एअरपोर्ट नै ध्वस्त बनाएको, शहरहरु तहसनहस भएकोजस्ता अनेक नक्कली भिडियोहरु पनि सामाजिक सन्जालमा देख्न सकिन्छ । इजरायलको सरकारले जनमानसमा त्रास फैलाउने तथा भ्रमित पार्ने सामाग्रीहरु प्रकाशन र प्रसारणका लागि रोक नै लगाएको छ ।
तस्बिरमा स्पष्ट त्रुटिहरू देखिन्छन् — केही गाडीहरू विकृत अवस्थामा छन्, भवनहरू पृष्ठभूमिमा मिसिएका छन्, र सम्पूर्ण संरचना अस्वाभाविक देखिन्छ। यसले तस्बिरको वास्तविकता माथि गम्भीर प्रश्न उठाउँछ। फिचर तस्बिर एउटा टिकटक भिडियोको स्क्रिनसट हो, जुन एआई प्रयोग गरेर बनाइएको थियो।
यसैबीच, केही प्रयोगकर्ताहरूले भिडियो गेमका दृश्यलाई वास्तविक भिडन्तको रुपमा प्रस्तुत गरिरहेका छन्। एक लोकप्रिय भिडियोमा एक लडाकु विमानमाथि प्रहार भइरहेको देखिन्छ, जसले टिकटकमा मात्रै १.८ करोडभन्दा बढी दर्शक पाएको छ। तर त्यो दृश्य कुनै वास्तविक आक्रमण नभई, कम्प्युटरबाट निर्माण गरिएको एनिमेसन थियो।
भिडियोमा देखिने आगो र धुवाँ अस्वाभाविक देखिन्छ, र यसले प्राविधिक विश्लेषणमा यो कुनै वास्तविक घटना नभई ‘कम्प्युटर सिमुलेटर गेम’को दृश्य भएको पुष्टि हुन्छ। विशेषज्ञहरू भन्छन् — यस्तो नक्कली सामग्रीले युद्धसम्बन्धी जानकारीमा भ्रम उत्पन्न गर्छ, आम जनतामा डर फैलाउँछ र गलत धारणा निर्माण गर्छ।
त्यसैले, युद्धसम्बन्धी सामग्री हेर्दा स्रोतको प्रमाणिकता पुष्टि गर्नु अत्यन्त आवश्यक छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com