नेपाल इजरायल डट कम / जेरुसलेम
इजरायली रक्षा बल (IDF) र शिन बेट (इजरायलको आन्तरिक सुरक्षा निकाय) को संयुक्त अपरेशनमार्फत २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आतंककारी समूहद्वारा अपहरण गरिएका थाई बन्धक नत्तापोंग पिन्टाको शव दक्षिण गाजाको राफाहबाट फेला परेको इजरायली अधिकारीहरूले शनिबार बिहान जानकारी दिएका छन्।
पिन्टा, थाई नागरिक, किब्बुज निर ओजमा कृषि मजदुरको रूपमा कार्यरत थिए। उनलाई हमास नेतृत्वको “मुझाहिदीन ब्रिगेड्स” नामक समूहले जीवितै अपहरण गरेको थियो। यो समूह गाजाको क्षेत्रमा सानो भए तापनि हमाससँग आंशिक रूपमा सहकार्यमा रहेको मानिन्छ । IDF का अनुसार युद्धको प्रारम्भिक महिनाहरूमा नै उनलाई बन्दी अवस्थामा हत्या गरिदिएको विश्वास गरिन्छ।
IDF का अनुसार गाजामा पक्राउ परेका एक प्यालेस्टिनी आतंककारीको शिन बेटद्वारा गरिएको सोधपुछबाट प्राप्त सूचनाका आधारमा पिन्टाको शवको स्थान पहिचान गरिएको हो। उनको मृत्युको सटीक मिति र परिस्थितिबारे हाल अनुसन्धान भइरहेको जनाइएको छ।
पिन्टा ती तीन बन्धकमध्ये एक थिए जसको जीवित रहेको या नरहेको अवस्थाबारे इजरायलले गम्भीर चिन्ता जनाएको थियो, यद्यपि उनीहरुलाई औपचारिक रूपमा मृत घोषणा गरिएको थिएन ।
केही समय अघि मात्र इजरायल सरकारले अब बाँकी बन्धकहरु मध्ये २० जना जिवितै रहेको हुनसक्ने तर ३ जनाको जीवनको कुनै संकेत प्राप्त हुन नसकेको बताएका थिए ।तीनजना मध्ये एकजना थाई नागरिक नत्तापोंग पिण्टा , एकजना नेपाली (विपिन जोशी) र एकजना इजरायली (तमीर निम्रोदी) अझै पनि हमासको कब्जामा जिवितै रहेकोमा आशंका व्यक्त गरेका थिए ।
यो पनि पढ्नुहोस ..
विपिन जोशीसहित ३ जना बन्धकहरु जिवितै रहेकोमा इजरायल सरकारले गर्यो गम्भीर आशंका
IDF ले शुक्रबार राफाहमा गरिएको उक्त अपरेशन “सटीक गुप्तचर सूचनाको” आधारमा गरिएको जनाएको छ, जुन शिन बेटको सोधपुछ र सेना अन्तर्गतको होस्टेज हेडक्वार्टर युनिट र सैन्य गुप्तचर निर्देशनालयबाट प्राप्त जानकारी समेटिएको थियो। शव इजरायल ल्याइएपछि राष्ट्रिय फरेन्सिक संस्थान ‘अबु कबिर’ मा परीक्षण गरियो र उनको पहिचान पुष्टि भएपछि इजरायली अधिकारीहरूले पिन्टाको परिवार, थाई अधिकारीहरू र किब्बुज निर ओजलाई जानकारी गराएका थिए।
मुझाहिदीन ब्रिगेड्स नामक यो आतंककारी समूह सानो भए पनि यसले शिरी बिबास र उनका दुई साना छोरा अरियल र क्फिर, साथै गाडी हग्गाइ र जुडिह वेनस्टिनको अपहरण र हत्या गरेको आरोप छ। उनीहरू सबैको शव हालै खान युनिसबाट फेला परेको थियो। श्रोतको अनुसार हमास नेतृत्व अन्तर्गत रहेर अक्टोबर ७ को हमला सहभागी भएका थुप्रै आतंककारी समुह मध्ये यही समूह ‘मुजाहिद्दिन’ को कब्जामा अर्का विदेशी नागरिक विपिन जोशी पनि परेका थिए ।
पिन्टा आफ्नै फेसबुकमा ‘निक’ नामले चिनिन्थे। उनी एभोकाडो र अनारको खेतीमा काम गर्दै थिए र आर्जन गरिरहेको पैसा ऋण तिर्न र श्रीमतीका लागि थाईल्याण्डमा कफी पसल खोल्न बचत गरिरहेका थिए। उनी युद्ध सुरु हुनुभन्दा डेढ वर्षअघि थाईल्याण्डमा रहेका आफ्ना श्रीमती र सानो छोरालाई छोडेर इजरायल आएका थिए।
२०२३ अक्टोबर ७ को बिहान उनले आफ्नी श्रीमती नारीसरा चन्थासाङलाई फोन गरेर गोली चलिरहेको र आफू भागिरहेको जानकारी दिएका थिए।
पिन्टा ३१ जना थाई कृषि मजदुरहरूमध्ये एक थिए, जसलाई सोही दिन आतंककारीहरूले अपहरण गरेका थिए। साथै नेपाल र तान्जानियाका दुई जना विदेशी मजदुरहरू पनि अपहरणमा परेका थिए। अनेकौ प्रयास र सम्झौतापछि हालसम्म २९ जना थाई मजदुरहरू रिहा भइसकेका छन्।
हालसम्म गाजाका आतंककारी समूहहरूले जम्मा ५५ जना बन्धकहरूलाई कब्जामा राखेका छन्, जसमा ५४ जना अक्टोबर ७ मा अपहरण गरिएका २५१ मध्येका हुन्। तीमध्ये कम्तीमा ३३ जनाको मृत्युपछि शव फेला परेको छ भने २० जनालाई जीवित भएको अनुमान गरिएको छ। थप २ जना विपिन जोशी र तमीर निम्रोदीको अवस्था अत्यन्त गम्भीर रहेको इजरायली अधिकारीहरूले जनाएका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com