आइतबार इजरायली रक्षा मन्त्री यिस्राएल काट्जले प्राविधिक गुप्तचर तथा युद्ध सामग्री संकलन इकाइको भ्रमण गरेका छन्। सो अवसरमा उनलाई इकाइका नेताहरूले समूहको गुप्तचर तथा सञ्चालन सम्बन्धी कार्यहरूको विस्तृत जानकारी दिएका थिए।
यस भ्रमणको क्रममा मन्त्री काट्जले एउटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गरे, जसले ७ अक्टोबरको आतंकवादी आक्रमणमा इरानको आर्थिक संलग्नता देखिएको छ। उनले भने, “म यहाँ प्राविधिक गुप्तचर तथा युद्ध सामग्री संकलन इकाइको भ्रमणमा छु, जुन ‘स्वोर्ड्स अफ आइरन’ युद्धका क्रममा स्थापना गरिएको एक विशेष इकाइ हो। यस इकाईमा आरक्षित (रिजर्भ) सैनिकहरू छन्, जसले आफ्नो नागरिक जीवनको अनुभवबाट राष्ट्रको लागि एउटा नयाँ गुप्तचर क्षमता विकास गरेका छन्। उनीहरूले फिल्डबाट संकलित महत्वपूर्ण सामग्रीहरू – हामास, हिजबुल्लाह तथा अन्य संवेदनशील गुप्तचर दस्तावेजहरू – सङ्कलन गरेका छन्।”
काट्जले नयाँ प्रमाणहरू प्रस्तुत गर्दै भने, “आज पहिलोपटक म एक कल लग फेला परेको डकुमेन्ट सार्वजनिक गर्दैछु, जुन हमासका सुरुङहरूबाट फेला परेको हो। यसमा इरानको हामासका नेता याह्या सिनवार र मोहम्मद देइफसँगको प्रत्यक्ष कुराकानी भएको छ । दस्तावेजमा उल्लेख भए अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) को कुद्स फोर्सका कमाण्डरलाई इजरायललाई नष्ट गर्न ५०० मिलियन अमेरिकी डलर स्थानान्तरण गर्न माग गरिएको थियो।”
काट्जले थप भने, “इरानी नेतृत्वले यो माग पुरा गरेको प्रमाण हामीसँग छ। कुद्स फोर्सको प्यालेस्टिनी विभाग प्रमुख एजादीले आर्थिक संकट र जनताको पीडाको बाबजुद इरानले इजरायल र अमेरिकाविरुद्धको लडाइँलाई पहिलो प्राथमिकता दिएको बताए।”
अन्त्यमा मन्त्री काट्जले इरान क्षेत्रीय अस्थिरताको मूल कारण रहेको स्पष्ट दाबी गरे। “निष्कर्ष स्पष्ट छ – इरान नै सर्पको टाउको हो। उसले गाजा, लेबनान, यहूदिया, सामारिया र यमनमा हुथीहरू मार्फत आतंकलाई प्रवर्द्धन गरिरहेको छ। इजरायलले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्न सबै प्रयास गर्नेछ र उसका एजेन्टहरूलाई तहस-नहस पार्ने कार्य जारी राख्नेछ,” काट्जले चेतावनी दिए।
यो वक्तव्य यस क्षेत्रका तनावहरू बीच आएको हो, जहाँ इरानले समर्थित हमास, हिजबुल्लाह र हुथी समूहहरूले इजरायलको विभिन्न क्षेत्रमा आक्रमण गर्दै आएका छन्। इजरायलले आतंकवाद बिरुद्धको कारवाही व्यापक रुपमा बढाएको छ । इजरायल, संयुक्त राज्य अमेरिका र अन्य धेरै देशहरूले यी समूहहरूलाई आतंककारी संगठन घोषणा गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com