गाजा क्षेत्रमा इजरायलको निरन्तर आक्रमण जारी रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणका कारण ८० भन्दा बढी प्यालेस्टाइनीले ज्यान गुमाएका छन्। अलजजिराका अनुसार, इजरायलको आक्रमणका कारण महिलाहरू, बालबालिकासहित कैयौँ निर्दोष नागरिक समेत मारिएका छन्।
इजरायली सेनाले जबालिया शिविरमा रहेको संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (UNRWA) को स्वास्थ्य चौकीमा समेत हमला गरेको छ। यस आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा महिलाहरू र बालबालिकाको संख्या उल्लेख्य रहेको बताइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हमलाका कारण हालसम्म ५० हजार ४२३ भन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भइसकेको छ भने १ लाख १४ हजार ६३८ जना घाइते भएका छन्।
यस आक्रमणको विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले कडा निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संघसंस्थाहरूले युद्ध तत्काल रोक्न आह्वान गरिरहेका छन्। तर, इजरायली आक्रमणहरू रोक्ने कुनै संकेत देखिएको छैन, जसले गर्दा गाजामा मानवीय संकट झनै गहिरिँदै गएको छ।
इजरायलले संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (UNRWA)लाई पहिले नै सामाजिक संस्थाको खोलमा आतंकवादी गतिबिधि गरिने गरेको बताउदै आएको छ । UNRWA लाई इजरायलले आतंकवादलाई प्रश्रय दिएको आरोपमा सो संस्थामाथि प्रतिबन्ध लगाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com