इजरायली सेनाले गाजामा आक्रमण बढाउने, ठूला क्षेत्रहरु कब्जा गर्ने
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले गाजामा आक्रमण विस्तार गर्ने र ठूला क्षेत्र आफ्नो नियन्त्रणमा लिने बताएका छन्।
बुधबार उनले आतंक प्रभावित क्षेत्रहरू सफा गर्ने उद्देश्य रहेको बताए। साथै, कब्जा गरिएका क्षेत्रहरूलाई इजरायली सुरक्षा क्षेत्रमा गाभ्नुपर्ने बताएका छन्।
यसका लागि काट्जले प्यालेस्टिनीहरूलाई ठूलो संख्यामा उक्त क्षेत्रबाट हटाउनु पर्ने बताएका छन्। उनले हमासलाई समाप्त पार्न सबैलाई आह्वान गर्दै इजरायली बन्धकहरूलाई रिहा गराउनु नै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भएको बताए।
रफाहमा इजरायली सेनाको आक्रमण
इजरायली सेनाले राति रफाहमा स्थलगत कारबाही थालेको खबर आएको छ।
इजरायलले मार्च १८ देखि गाजामा पुनः बमबारी गरिरहेको छ। यसअघि, हमासले ५९ जना इजरायली बन्धक रिहा गर्ने तथा शान्ति सम्झौता अघि बढाउने अमेरिकी प्रस्ताव अस्वीकार गरेको आरोप इजरायलले लगाएको छ। तर हमासले भने इजरायलले नै जनवरीमा भएको शान्ति सम्झौता तोडेको बताएको छ।
मार्च २ मा इजरायलले गाजामा सहायता आपूर्ति बन्द गरेपछि अवस्था झन् गम्भीर बनेको छ।
गत महिनामा आठ जना प्यालेस्टिनी स्वास्थ्यकर्मी, छ जना नागरिक सुरक्षा कर्मचारी र एक संयुक्त राष्ट्र संघका कर्मचारीको मृत्यु भएपछि संयुक्त राष्ट्र संघले गाजामा आफ्ना गतिविधि कटौती गर्ने घोषणा गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com