काठमाडौं, ललितपुर – इजरायलको काठमाडौंस्थित राजदूतावासको परिवारले ललितपुरको नखुडोलेस्थित तुलसी फाउन्डेसनका बालबालिकासँग विभिन्न रमाइला गतिविधिहरू गर्दै एक अर्थपूर्ण दिन बिताएको छ। उक्त अवसरमा, राजदूतावासले फाउन्डेसनलाई खाद्यान्न र अन्य आवश्यक सामग्रीहरू पनि सहयोगस्वरूप प्रदान गरेको छ।
तुलसालय आश्रम अनाथ वालवालिका तथा ज्येष्ठ नागरिकहरूको लागि स्थापित संस्था हो, जसको स्थापना श्रीमती सरु सुवेदीले गर्नुभएको हो। उहाँ इजरायलमा सात वर्षसम्म केयरगिभर (हेरचाहकर्ता)को रूपमा कार्यरत हुनुहुन्थ्यो। इजरायलबाट फर्केपछि, उहाँले आफ्नै स्रोत र साधन प्रयोग गरी बालबालिका र अनाथ असहाय व्यक्तिहरूको उद्धारार्थ तुलसालय आश्रमको स्थापना गर्नुभएको हो ।
तुलसादेवी हरिहर फाउन्डेसन (तुलसालाय आश्रम ) मार्फत धेरै मानसिक समस्याबाट पिडितहरुको उद्धार गरिएको छ । ५८ जना मानसिक समस्याबाट पिडितहरु निको भएर घर फर्किनु भएको आश्रमकी संस्थापिका सरु सुवेदीले बताउनु भयो भने ४१ जना सहाराविहिन अवस्थाका वालवालिका र अनाथहरु आश्रममै आश्रित हुनुहुन्छ ।
हाल आश्रममा ४ महिनादेखिका साना साना अनाथ वालवालिकाले आश्रय लिरहेका छन । संस्थामा विभिन्न उमेरसमूहका वालवालिकाले सहारा पाएका छन । आश्रमकी संस्थापिका सुवेदीले जन्मने वित्तिकै आमा गुमाउन पुगेकी एक महिने वालिकाको समेत उद्धार गरिएको भावुक हुँदै स्मरण गर्नु भयो ।
इजरायलको राजदूतावासले २०१० देखि प्रत्येक वर्ष ‘गुड डीड्स डे’ मनाउँदै आएको छ। यसै अन्तर्गत विभिन्न संस्थाहरूसँग मिलेर स्वयंसेवा कार्यक्रमहरू आयोजना गर्ने तथा समुदायलाई मद्दत गर्ने कार्य पनि गर्दै आइरहेको छ। यस वर्ष पनि ‘शलोम क्लब नेपाल’ का सदस्यहरू सहित राजदूतावासका कर्मचारीहरू तुलसी फाउन्डेसन पुगेर सहयोग गरेका हुन्।
तुलासालय आश्रम पुगेर इजरायली राजदूत स्मुलिक एरी बासले इजरायलमा कार्य गरी आर्जित स्रोत र ठूलो मनका साथ ४० जना बालबालिकाको लागि आश्रयस्थल र मानसिक समस्या भएका व्यक्तिहरूको लागि आश्रम सञ्चालन गर्दै आउनुभएकी सरु सुवेदीको महान कार्यको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । उहाँले त यो सत्कर्म हरेक समय/ हरेक दिन बर्षेैभरी नै गरिरहनुभएको छ, आफूहरु पनि राजदूतावासका कर्मचारीहरूसहित उपस्थित भई स्वयंसेवकका रूपमा यो पुण्य कार्यमा सहभागी हुन पाउँदा निकै सन्तोष लागेको राजदूतले बताउनु भयो ।
निकट भविष्यमा नै अलि फराकिलो स्थानमा नेपाली माटोका मौलिक घर टहराहरुमा तुलासालय आश्रम निर्माण हुने उहाँले बताउनु भयो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com