काठमाडौँ – गायक प्रकाश सपूतको पहिलो निर्देशनमा बनेको चलचित्र वसन्त चैत २२ गते प्रदर्शन हुँदैछ। सपूतका अनुसार यो फिल्म उनका भोगाइ र विसं २०६० देखि हालसम्मको समाजको चित्रण हो, जसमा माओवादी द्वन्द्व, वर्गीय विभेद, र जातीय अस्तित्वका विषय समेटिएका छन्।
चलचित्रमा एक लेखक बन्न संघर्ष गरिरहेका पात्रको कथा छ, जसले सामाजिक अन्याय र अन्तरजातीय मित्रताको असर देखाउँछ। सपूतले दलित समुदायको भूमिका निर्वाह गरेका छन् भने स्वस्तिमा खड्काले ब्राह्मण समुदायको पात्र शान्ति शर्माको भूमिका खेलेकी छन्।
गीतमार्फत अनुभव बाँड्दै आएका सपूतले आफ्ना कथालाई न्याय दिन निर्देशक बनेको बताए। वसन्त मध्यमवर्गीय युवाको कथा हो, जसले सामाजिक चेतनालाई प्रश्न गर्छ। अभिनेत्री खड्काले सपूतको निर्देशन परिपक्व रहेको बताइन्।
चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com