तेल अविव- मुन्धुमी सभ्यताको ऐतिहासिकभूमि मुक्कुमलुङ (पाथिभरा माता) क्षेत्रको महत्त्वलाई सम्मान गर्दै उक्त क्षेत्रमा बनिन लागेको केबलकार निर्माणको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले नेपाल सरकारलाई ज्ञापन-पत्र बुझाएको छ ।
बि. सं. २०८१ चैत १० गते आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ इजरायल र महासंघमा आवद्ध सदस्य संस्थाहरुको संयुक्तको प्रतिनिधि मण्डलले इजरायलको लागि नेपाली राजदूत धनप्रसाद पण्डित मार्फत प्रधानमन्त्री केपी ओली र ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मुक्कुमलुङमा बनिन लागेको केबलकार निर्माणको विरोधमा ज्ञापनपत्र बुझाएको छ ।
नेफिनइजरायलले उक्त क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार निर्माणको विरोधमा नेपाल संवत् ११४५, बि.सं. २०८१ फागुन १६ गते (फेब्रुअरी २८, २०२५, शुक्रबार) इजरायलको तेल अभिभमा पनि एक विशेष विरोध सभा सम्पन्न गरेको थियो।
ताप्लेजुङ जिल्लामा पर्ने मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा राज्यद्वारा स्थानीय आदिवासीहरूको स्वीकृति बिना जबर्जस्ती केबलकार निर्माण कार्य सुरु गरिएको कार्यलाई अनावश्यक र प्राकृतिक तथा सांस्कृतिक सम्पदामाथि विनाश निम्त्याउने भन्दै स्थानीय बासिन्दा तथा धार्मिक आस्थावान समुदायले विरोध जारी राखिरहेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com