इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले इजरायलले सिरियाली ड्रुज श्रमिकहरूलाई रोजगारीका लागि इजरायल प्रवेशको अनुमति दिने बताएका छन्।
यो योजना गोलान हाइट्समा बस्ने ड्रुज समुदायले परिवार पुनर्मिलनका लागि गरेको अनुरोधपछि अघि बढाइएको हो। रक्षा मन्त्री काट्जले इजरायल ड्रुज समुदायलाई सुरक्षित राख्न चाहेको बताए। इजरायलमा प्यालेस्टिनी श्रमिकहरु माथि प्रतिबन्ध लागेपछि कृषि तथा निर्माणमा जनशक्तिको अभाव हुदै आएको छ । इजरायलले निर्माण क्षेत्रमा भारतीय कामदार ल्याई राखेको भएतापनि पूर्ण रुपमा जनशक्ति आपूर्ति हुन सकेको छैन ।
केन्द्रीय क्षेत्रका परिषद प्रमुखहरूको सम्मेलनमा बोल्दै काट्जले भने, ” हाम्रा सिरियाली ड्रुज साथीहरूप्रति हाम्रो ठूलो प्रतिबद्धता छ। हामी उनीहरूसँग सम्पर्क कायम राख्न प्रयास गरिरहेका छौं।“
सिरियाका ड्रुज कामदारहरूलाई गोलान हाइट्स प्रवेशको अनुमति योजना
काट्जका अनुसार, “हामी शुरुमा सिरियामा रहेका छिमेकी ड्रुजहरूलाई दैनिक आधारमा गोलान हाइट्समा काम गर्न आउन अनुमति दिनेछौं। हामी उनीहरूलाई विभिन्न संस्थाहरूको सहयोगमा समर्थन गर्न तयार छौं। हाम्रो मुख्य उद्देश्य उनीहरूको सुरक्षा हो, र हामी यो विषयमा बुद्धिमानीपूर्वक काम गरिरहेका छौं।“
यदि यो योजना लागू भयो भने, इजरायली रक्षा सेना (IDF) ले इजरायल प्रवेश र निकासको नियन्त्रण तथा सुरक्षा व्यवस्थापन गर्नेछ। साथै, इजरायली नियन्त्रणका कारण कतिपय स्थानीय किसानहरूको कृषि कार्यमा समस्या आएकोले यो योजना तिनीहरूको समस्याको समाधानका रूपमा पनि हेर्न सकिन्छ।
यसअघि पनि ड्रुज समुदायले इजरायलमा प्रवेश गर्न बारम्बार अनुरोध गरिसकेको थियो, जसको मुख्य उद्देश्य परिवार पुनर्मिलन र इजरायली सुरक्षाको प्राप्ति थियो।
सिरियाली युद्ध र इजरायली रण नीति
काट्जले भने, ” सिरियाली गृहयुद्धका क्रममा IDF ले जानाजानी इरानलाई सिरियाली शासनलाई बचाउन रोक्ने निर्णय गरेको थियो। इस्लामी संगठन हयात तहरीर अल–शाम को नेतृत्वमा रहेका मिलिसियाहरूले सिरियालाई नियन्त्रण गर्न नपाओस् भन्ने उद्देश्यले इजरायलले कदम चालेको हो।“
उनले थपे, ” हामीले इरानीहरूलाई स्पष्ट सन्देश पठायौं कि यदि तिनीहरू आए भने हामी आक्रमण गर्नेछौं। हाम्रो वायुसेनाले उडान भरेपछि इरानी विमानहरू फर्कन बाध्य भए। “
काट्जले भने, ” सिरियाली नेता अहमद अल–शराअले सैन्य पोसाक छोडेर सूट लगाएको छ, राम्रोसँग बोल्छ… तर हामी उसलाई विश्वास गर्दैनौं । हामी केवल IDF लाई विश्वास गर्छौं। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको छलफलपछि हामीले निर्णय गर्यौं कि गोलान हाइट्सको सिमानामा हाम्रो उपस्थिति स्थायी रूपमा रहनेछ। “
गाजा युद्ध र हमास
गाजा क्षेत्रमा बन्धक मुक्त गर्ने तथा युद्धविराम सम्झौताबारे टिप्पणी गर्दै काट्जले भने, ” हमासले बुझ्नुपर्छ कि IDF पुन: युद्धका लागि तयार छ, र यो सत्य हो। युद्धविरामको समयमा पनि हामीले जानकारी पाएका छौं उनीहरू सैनिकहरूमाथि आक्रमण गर्ने र बस्तीहरूलाई निशाना बनाउने योजना बनाइरहेका छन्। हमासले जबसम्म आतंकवादी स्वभाव त्यागेर राजनीतिक चरीत्र निभाउदैन, तबसम्म युद्ध विराम सम्झौता संकटमा पर्नेछ ।“
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com