पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपमा २० जना घाइते भएका छन्। झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाएका छन्।
प्रहरीका अनुसार, फरक समुदायका युवक-युवतीबीच प्रेम विवाह भएपछि उत्पन्न विवादले सोमबार झडपको रुप लिएको हो।
करिब चार महिना अघि भएको उक्त विवाहपछि गाउँमा तनाव रहँदै आएको थियो। आज भने गाडीले पैदल यात्रीलाई ठक्कर दिएको घटनालाई लिएर विवाद झन् चर्किएको बताइएको छ।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने, “गाडीको ठक्करको विषयमा दुई समुदायबीच विवाद भयो। विवाद मिलाउने क्रममा केही प्रहरी, सशस्त्र सुरक्षाकर्मी, र दुई स्थानीय घाइते भएका छन्। झडपकै क्रममा प्रहरीको गाडी पनि जलाइएको छ।”
उनका अनुसार, ५ जना स्थानीय, १२ जना जनपथ प्रहरी, र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थानीयले प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी जलाएका हुन्।
झडप गाडीले ब्याक गर्दा पैदल यात्रीलाई ठक्कर दिएको घटनाबाट सुरु भएको बताइएको छ। त्यसपछि युवक-युवतीका पक्षधरहरूबीच झडप चर्किएको थियो।
विवादकै क्रममा नजिकै रहेको पुरानो टायर ग्यारेजमा आगजनी गरिएको थियो। सोही आगोबाट नजिकैको घरका मानिसहरूलाई उद्धार गर्न पुगेको प्रहरीको गाडी पनि क्षतिग्रस्त भएको घिमिरेले जानकारी दिए।
बेलासपुरमा दुई समूहबिच झडपमा गम्भीर घाइते भएका विजय धवलको मृत्यु भएको छ । उनको भैरहवाको सिटी अस्पतालमा मृत्यु भएको हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com