हमासका एक प्रवक्ताले इजरायली बन्धकहरूको निर्धारित रिहाइ स्थगित गर्ने घोषणा गरेका छन्। उनका अनुसार इजरायलले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेकाले उक्त निर्णय गरिएको हो।
शनिबारका लागि तय गरिएको योजना अनुसार, इजरायलमा कैद रहेका थप प्यालेस्टिनी बन्दीहरूको सट्टामा गाजामा बन्धक बनाइएका तीन इजरायली नागरिक मुक्त गरिनुपर्ने थियो। तर, हमासले यो प्रक्रिया स्थगित गर्ने जनाएको छ।
इजरायलका रक्षामन्त्री इजरेल कात्जले हमासको घोषणालाई युद्धविराम सम्झौतासँगको ‘गम्भीर उल्लङ्घन’ भन्दै कडा प्रतिक्रिया दिएका छन्।
अमेरिकी चेतावनी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सबै बन्धकहरू शनिबारसम्म मुक्त नगरिएमा युद्धविराम खारेज गरिनुपर्ने सुझाव दिएका थिए। उनले भने, ‘उनीहरू शनिबार १२ बजेसम्म फर्कनुपर्छ। किस्ता-किस्तामा होइन, दुई, तीन वा चार जनाको समूहमै होइन।’
इजरायल र हमासबीच तनाव थप चुलिंदै
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा बन्धक बनाइएका ७३ जना तथा एक दशकअघि कब्जामा लिइएका थप तीनजनासहित हालसम्म ७६ जना गाजामा बन्धक रहेको जनाइएको छ। जसमध्ये नेपालका विद्यार्थी बिपिन जोशी पनि रहेको बिश्वास गरिएको छ ।
ट्रम्पले यदि बन्धकहरू तत्काल रिहा नभए अप्रत्याशित परिणाम आउने चेतावनी दिएका छन्। जब उनलाई सोधियो – यसको अर्थ इजरायलले हमासविरुद्ध कडा कारबाही गर्नु हो भन्ने हो? उनले जवाफ दिए, ‘तपाईंले चाँडै बुझ्नुहुनेछ, र उनीहरूले पनि।’
इजरायली रक्षामन्त्री कात्जले गाजामा रहेका सुरक्षाकर्मीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै कुनै पनि आपतकालीन स्थितिका लागि तयार रहन आदेश दिएका छन्। यसले फेरी अर्को पटक युद्ध बिराम पूर्ण सफल हुनेमा आशंका उत्पन्न भएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
1 Comment
Pingback: शनिबारसम्म सबै इजरायली बन्धक नछोडे गाजा ध्वस्त पार्ने ट्रम्पको चेतावनी - नेपाल इजरायल डट कम (nepalisrae