हमासले इजरायल र लेबनानस्थित हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा कुनै पनि युद्धविराम प्रयासलाई सहयोग गर्न आफू तयार रहेको जनाएको छ।
लेबनानमा भएको युद्धविराम सम्झौताको प्रगतिलाई सकारात्मक संकेतको रूपमा लिंदै हमासले उक्त प्रयासलाई समर्थन गर्ने बताएको हो। यससँगै गाजामा शान्ति स्थापना हुने आशा थप बलियो बनेको छ।
इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाहसँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको थियो, जसले हिजो बुधवारदेखि लागू हुने गरी लेबनानमा युद्ध विराम भएको छ ।
यो सम्झौतासँगै इजरायल र हिजबुल्लाहबीच लामो समयदेखि चल्दै आएको सशस्त्र द्वन्द्व अन्त्य भएको छ। यसले क्षेत्रीय शान्तिका लागि नयाँ अवसर सिर्जना गरेको बताइएको छ।
गाजामा भइरहेको द्वन्द्व र मानवीय संकटलाई मध्यनजर गर्दै, हमासको यो भनाइले स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्तिपूर्ण समाधानको आशा जगाएको छ। युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको सक्रिय पहल आवश्यक रहेको बताइँदै आएको छ।
इजरायल र गाजाबीच लामो समयदेखि जारी द्वन्द्वले ठूलो मानवीय क्षति पुर्याएको छ। यस्तो परिस्थितिमा युद्धविरामका लागि सबै पक्षले पहल गर्ने संकेतले सकारात्मक वातावरण सिर्जना गरेको छ।
लेबनानमा युद्धविरामको कार्यान्वयन कसरी अघि बढ्छ र त्यसले गाजामा कसरी प्रभाव पार्छ भन्ने विषयमा अब विश्वको ध्यान केन्द्रित भएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com