नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ।
श्रम मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल-इजरायल श्रम समझौताको कार्यान्वयन, केयरगिभरका रूपमा छनोट भएका नेपाली कामदारलाई चाँडो इजरायल पठाउने, र नेपाललाई श्रमिकको स्रोत मुलुकका रूपमा इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको थियो।
मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराका अनुसार मन्त्री भण्डारी र राजदूत बासले कृषि, निर्माणलगायतका क्षेत्रमा थप नेपाली कामदार पठाउन पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, तथा श्रमिकका अधिकार र सुरक्षाको संरक्षणबारे सहकार्य गर्न सहमति जनाउनुभयो।
राजदूत बासले केयरगिभिङ क्षेत्रमा नेपाली कामदारको उत्कृष्टता उल्लेख गर्दै इजरायलमा हाल युद्धविराम भइसकेको र छनोट भएका सबै नेपाली कामदारलाई क्रमशः लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली श्रमिकलाई कृषि र निर्माणजस्ता क्षेत्रमा समेत अवसर प्रदान गर्न सकिने बताउनुभयो।
मन्त्री भण्डारीले इजरायल जान पर्खाइमा रहेका नेपाली कामदारलाई छिटो पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने आश्वासन दिनुभयो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com