वाशिङ्टन, डीसी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) द्वारा जारी गरिएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरूबीच मतभेद देखा परेका छन्।
अमेरिका ICCको आदेशलाई अस्वीकार गर्दै यसलाई “हतार” भनेको छ। ह्वाइट हाउसका प्रवक्ता करेन जीन पियरेका अनुसार, अमेरिका ICCको सदस्य होइन र त्यसैले यसको निर्णयलाई मानेको छैन।
तर, बेलायत, क्यानडा, नेदरल्यान्ड्स र इटालीले भने नेतन्याहू आफ्नो देशमा गए भने उनलाई पक्राउ गर्ने बताएको छ। इटालीका रक्षा मन्त्री गुइडो क्रोसिटो र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ICCको नियम पालन गर्ने बताएका छन्।
बेलायती सरकारका प्रवक्ताले भने नेतन्याहू र हमासको बीचमा नैतिक समानता नभएको कुरा पुष्टि गरे, र इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको जनाएका छन्।
नेतन्याहूले ICCको निर्णयलाई यहुदी विरोधी भन्दै खण्डन गरेका छन् र आरोपलाई झुटो भनेका छन्। ICC ले हमासका कमान्डर मोहम्मद डेइफको नाममा पनि पक्राउ पुर्जी जारी गरेको छ, जबकि इजरायलका अनुसार, डेइफ जुलाई महिनामा मरेका थिए।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले इजरायलका पूर्व रक्षामन्त्री योभ गालान्ट र हमासका पूर्व कमाण्डर मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। यसले इजरायल र ICC बीचको तनावलाई अझ चर्काएको छ।
इजरायलले भने, ICC को आरोप अस्वीकार गर्दै यो मुद्दा अदालतको क्षेत्राधिकारमा नपर्ने बताएको छ। इजरायलका प्रमुख विपक्षी नेता यायर लिपिडले पनि ICC का आदेशको आलोचना गर्दै यसलाई आतंकवादको पुरस्कार भनेका छन्।
वारेन्टमा नेतान्याहू र गालान्टबाट कुनै प्रतिक्रिया नआए पनि, गाजामा इजरायली हमलामा हालसम्म ४४ हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ, जसले विश्वभरि खलबली मच्चाएको छ।
यसैबीच, मोहम्मद डेफलाई इजरायलले अक्टोबर ७ मा गाजामा सामूहिक हत्या, बलात्कार र बन्धक बनाउने जस्ता जघन्य अपराध गरेको आरोप लगाएको छ।
यसका साथै, ICC ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पनि युक्रेन युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो, तर उनी अझै पक्राउ परेका छैनन्।
ध्यान दिनु पर्ने कुरा भनेको ICC का आदेशहरू कानूनी रूपले प्रभावी भए तापनि, यससँग आरोपीलाई पक्राउ गर्ने अधिकार छैन। यो अदालतका आदेश केवल तिनै देशहरूमा मान्य छन् जसले ICC को स्थापना सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com