काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रभाव र त्यसको दुरुपयोगलाई ध्यानमा राख्दै युट्युब च्यानल तथा फेसबुक पेजहरूमा कडा निगरानी सुरु गरेको छ। नेपाली सञ्चार जगतमा विश्वसनीयता र तथ्यमा आधारित सामग्रीको आवश्यकता दिनदिनै बढ्दै गइरहेको अवस्थामा, काउन्सिलले मापदण्डमा सुधार ल्याउँदै कार्यविधि तयार पारी नयाँ कदम चालेको हो।
काउन्सिलका अनुसार, सञ्चार माध्यमसँग सम्बद्ध भएका वा नभएका सबै सामाजिक सञ्जाल विशेष गरी युट्युब र फेसबुक जस्ता लोकप्रिय प्लेटफर्महरूबाट प्रसारित सामग्रीलाई तथ्यपूर्ण र मर्यादित बनाउन उनीहरूले सघाउनेछन्। यस्तै, काउन्सिलले सामाजिक सञ्जालमा सञ्चालित पेजहरूको सञ्चालकको नाम, ठेगाना, र कानुनी वैधता जस्ता आधारभूत विवरणहरू स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि अनिवार्य बनाउँदैछ।
प्रेस काउन्सिलका सह प्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलिरहेको नकारात्मक प्रवृत्ति रोक्न काउन्सिलले सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख छ। विज्ञप्तिमा, युट्युब, अनलाइन टिभी र अन्य डिजिटल पेजहरूको मापदण्ड स्थापना गर्न विशेष कार्यविधि तयार पारी त्यसलाई व्यवस्थित रूपमा लागू गरिरहेको जानकारी पनि दिइएको छ।
सामाजिक सञ्जालमा बढ्दो गालीगलौज, गलत सूचना, अफवाह, र अशिष्ट सामग्रीले समाजमा भ्रम र अन्योल सिर्जना गरेको काउन्सिलको विशेष अनुगमनबाट पाइएको छ। केही सामग्रीले जनताको संवेदनशीलतामाथि ठेस पुर्याउने खालका सामग्री प्रसारण गरिरहेका छन्, जसले समाजलाई गलत दिशामा लैजाने खतरा उत्पन्न गराएको छ।
यस परिस्थितिलाई गम्भीरताका साथ लिँदै, प्रेस काउन्सिलले यस्ता आपत्तिजनक गतिविधिहरूलाई रोक्न र समाजलाई सकारात्मक र सशक्त बनाउन राज्यका विभिन्न निकायहरूसँग सहकार्य गरिरहेको छ। विशेष गरी, गलत सूचना र अशिष्ट सामग्रीविरुद्ध कडा कदम चाल्न काउन्सिलले विभिन्न स्तरमा सचेतना अभियान र प्रवृत्तिगत अध्ययनसमेत गरिरहेको छ, जसले गर्दा सामाजिक सञ्जालको प्रयोग स्वस्थ र मर्यादित बन्दै जाने विश्वास व्यक्त गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com