ब्रसेल्स– बेल्जियममा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपालीमूलका दुई उम्मेदवारले जीत हासिल गरेका छन् । बेल्जियमको राजनीतिमा नेपाली उम्मेदवारले इतिहास रच्दै विजयी भएका हुन् । नेपाली नागरिक बसोबास गर्न थालेको तीन दशकयता पहिलो पटक प्रत्यक्ष निर्वाचनमा नेपाली उम्मेदवारले जीत हासिल गरेका हुन् ।
स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको स्थानीय निकायको निर्वाचनअन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमिल्सिना तता लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन् ।
निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा कुल ११ जना नेपाली उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ तथा ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । ब्रुगे नगरपालिकाको सदस्यमा निर्वाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी छिन् । उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्वाचित भएकी हन् ।
कास्कीमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्वाचित २५ वर्षीया प्रज्ञाले निर्वाचचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छिन् । आफ्ना बुवाको प्रेरणाबाट आफूलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनको भनाइ छ । उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान सभापति तथा नेपाल विद्यार्थी संघ, कास्कीका पूर्व सभापति हुन् ।
बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब ४५ प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो । अघिल्लो निर्वाचनमा ६० प्रतिशत मत खसेको थियो ।
गाउँपालिका, नगरपालिका सहित ५८१ स्थानमा भएको निर्वाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा विजयी भएका हुन् । आँधिखोला गाउँपालिका, फापरथुम निबुवाबोट, स्याङजाका ढकालले विजयी भएपछि भनेका छन्– ‘निर्वाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु । नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा ढोका खुला भएको छ ।’
करिव १५ हजार जना नेपाली बसोबास गर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कँडेल जीतको नजिक पुगेर पराजित भएको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com