एजेन्सी : दक्षिणी लेबनानमा इजरायली आक्रमणले गाजामा जस्तै भयावह स्थिति सिर्जना हुन सक्ने सम्भावना देखिएको छ ।
इजरायली आक्रमणबाट स्थिति विकराल बन्नु अगावै हिजबुल्लाहले युद्धविरामको माग गरेको समाचार आएको छ ।
सीएनएनको रिपोर्टका अनुसार यो संगठनले पहिलो पटक सार्वजनिक रूपमा द्विपक्षीय युद्धविरामको माग गर्दै त्यसका लागि कुनै शर्त राखेको छैन ।
हमासलाई समर्थन गर्दै हिजबुल्लाहले गत वर्ष अक्टोबर ८ देखि उत्तरी इजरायलमा हवाई आक्रमण शुरु गरेको थियो।
हिजबुल्लाहका उपप्रमुख नईम कासिमले मंगलबार यस घटनाको एक वर्ष पूरा भएको अवसरमा भाषण दिएका थिए।
कासिमले लेबनानी सभामुख नबिह बेरीले युद्धविरामका लागि गरेको प्रयासलाई हिजबुल्लाहले समर्थन गरेको बताउँदै युद्धविराम भएपछि अन्य विषयमा छलफल हुने बताए।
हिजबुल्लाहले यसअघि गाजामा युद्धविराम भयो भने मात्र इजरायलमाथि आक्रमण रोक्ने बताएको थियो ।
यसैबीच इजरायली सैनिकहरूले लेबनानको मारुन अल-रसमा रहेको इरान गार्डेन पार्कको भग्नावशेषमा इजरायली झण्डा फहराएको सीएनएनले जनाएको छ।
यसअघि मंगलबार इजरायली सेनाले मारुन अल-रस क्षेत्रमा रहेको हिजबुल्लाहको इलाकामा आफ्नो नियन्त्रण प्राप्त गरेको बताएको थियो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com