नेपाल इजरायल डट कम /जेरुसलेम | लेबनानमा इजरायली आक्रमणबाट २ हजारभन्दा धेरैको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले १२७ बालबालिका र २६१ महिलाको मृत्यु भएको जनाएको छ। यस आक्रमणमा धेरै मानिस घाइते भएका छन्।
शुक्रबार राति पनि इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा ठूलो आक्रमण गरिरहेको अल जजिराले जनाएको छ। यसअघि बिहीबार पनि त्यहाँ हवाई आक्रमण भएको थियो। इजरायलले आफ्नो निशाना हिजबुल्लाह भएको दाबी गरेको छ, तर सर्वसाधारण पनि मारिएका छन्।
लेबनानमा १२ सयभन्दा बढी नेपाली श्रमिक र ८७७ नेपाली सैनिक संयुक्त राष्ट्रसंघको युनिफिलमा कार्यरत रहेका छन्। अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली सेना बंकरभित्र सुरक्षित रहेको बताइएको छ।
बेरुतमा काम गरिरहेका नेपालीले आफूहरू अहिलेसम्म सुरक्षित भए पनि आक्रमणले डराएको बताएका छन । बिहीबार र शुक्रबार राति ठूलो आवाजमा बम विस्फोट हुँदा धेरै त्रास भएको उनीहरूले बताए । उनीहरू दिनभर बाहिर ननिस्कने र राति बमको आवाजले निदाउन नसकेको बताउछन्।
बिहीबार र शुक्रबार ठूलो विस्फोटको आवाज सुनेर हामी डरायौँ। के गर्ने भन्ने थाहा छैन। केही साथीहरू त काममा जान पनि छोडेका छन्।”
दिनमा त विस्फोटको आवाज नसुनिए पनि राति भने बम पड्किएको सुनेर डर लाग्ने उनीहरुले बताए । “एक हप्तादेखि दिनमा पनि बाहिर निस्केका छैनौँ। राति बम पड्किँदा सुत्नै नसकिने स्थिति छ । रोजगारदाताले चिन्ता नलिन भनेकाले दूतावाससँग उद्धारको अनुरोध नगरेको उनीहरुले बताए ।
प्राय नेपाली कार्यरत क्षेत्रमा इसाईहरू बढी भएकाले ती स्थानहरुमा आक्रमण भएको छैन। यो नै राहतको कुरा हो । तर, सुन्नी मुसलमान भएको क्षेत्रमा काम गर्ने नेपालीहरू पनि डराएका छन्। यद्यपि ती क्षेत्रमा सिधा आक्रमण नभएकाले अहिलेसम्म सबै सुरक्षित छन्।
नेपाली राजदूत सुशील लम्सालले बेरुतका नेपालीहरूसँग सम्पर्कमा रहेर सतर्क रहन आग्रह गरिरहेका छन्। आवश्यकता परे सहयोग गर्ने बताएका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com