इजिप्टका निम्ति नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएका छन् । लेबनान समेत हेर्ने जिम्मेवारी पाएका लम्सालले नेपाली रहेका स्थानमा हाल असहज अवस्था नरहेको बताए ।
“लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सबै सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले बाह्रखरीसँग भने, “पछिल्ला दिनमा दक्षिणी लेबनानमा तनाव बढेको छ । अधिकांश नेपाली उक्त क्षेत्रमा हुनु हुन्न ।”
इजरायलले दक्षिण लेबनानस्थित हिजबुल्लाहका अखडाहरूमा आक्रमण गरिरहेको छ । इजरायलको आक्रमणमा परी लेबनानमा पछिल्लो दुई दिनमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली हवाई आक्रमणमा परी लेबनानमा ज्यान गुमाउनेमा ३५ बालबालिका र ५८ महिला समेत छन् । इजरायलको आक्रमणबाट एक हजार ६०० जनाभन्दा बढी लेबनानी घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लेबनानमा कार्यरत नेपाली श्रमिकले ‘इजरायल–लेबनानको सीमा क्षेत्रमा भइरहेको युद्ध’ले आफूहरू आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै ढुक्क भएर आफ्नो नियमित काम गरिरहेको बताएका छन् ।
अधिकांश नेपालीहरु लेबनानको मुख्य सहर बेरुतमा कार्यरत छन् । हजबुल्लाहबीच भइरहेको युद्धबाट पर्न सक्ने जोखिमबारे उनीहरू सचेत भएर बसेका छन । ‘इजरायलले आक्रमण गरेको क्षेत्र बेरुतबाट दुई घण्टा टाढा छ । त्यो ठाउँमा मुस्लिम समुदायको बाहुल्यता बढी छ । हिज्बोल्लाका गतिबिधि हुने क्षेत्रमा नेपाली रहेको सूचना प्राप्त भएको छैन ।
लेबनानमा रहेका नेपालीहरूबीच एकआपसमा समन्वय बढिरहेको छ । ‘को कुन ठाँउमा छौं । सुरक्षित र असुरक्षित के छ भनेर एक आपसमा सूचनाहरू आदानप्रदान भैरहेका छन । जबसम्म बेरुतको मुख्य सहरमा तनाब बढ्दैन । तबसम्म लेबनानमा कार्यरत नेपाली हरु आत्तिहाल्नुपर्ने अवस्थामा छैन, त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन ।
दुई दिनमा इजरायलले हिजबुल्लाहका एक हजार ३०० अखडामा आक्रमण गरेको छ । लेबनानको दक्षिण भूभाग (इजरायलसँगको सीमा)लाई आधारक्षेत्र बनाएर बसेको हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरिरहेको छ ।
राजदूत लम्सालका अनुसार, लेबनानमा एक हजारदेखि १२ सयसम्म नेपाली कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् । अरू नेपाली होटेल तथा रेस्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् ।
लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा हाल ९७७ नेपाली सैनिक खटिएका छन् । शान्ति स्थापनाका निम्ति उनीहरूलाई भने लेबनान–इजरायल सीमानजिकका क्षेत्रहरुमा खटाइएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com