इजरायल र हिजबोल्लाह युद्धको चपेटामा लेबनानमा कार्यरत शान्ति सेनामा समेत असर देखा पर्न थालेको छ , रिपोर्ट अनुसार दक्षिणी लेबनानको यारून सहर नजिकै एक आक्रमणमा भएको विस्फोटनबाट तीन युनिफिल शान्ति सैनिकहरू घाइते भएका छन् ।
लेबनानमा रहेको इरान समर्थित हिजबोल्लाह समुहले इजरायलको उत्तरी क्षेत्रमा लगातार रकेट आक्रमण गरिरहेको छ , उत्तर इजरायलमा हिजबोल्लाहको आक्रमणको बिचमा दिनभरि साइरनहरू बजिरहेको थियो ।
संयुक्त राष्ट्र सङ्घको अन्तरिम सेना (युनिफिल) लामो समयदेखि दक्षिणी लेबनानमा तैनाथ गरिएको छ, जुन शक्तिशाली शिया आन्दोलन हिजबोल्लाहको मुख्य आधार क्षेत्र हो, किनभने यी दुई देशहरू प्राविधिक रूपमा युद्धमा रहेका छन्। इजरायल र हिजबोल्लाह बिचको युद्धलाई व्यापक फैलिन नदिने र जनधनको क्षति रोक्ने शान्ति सेनाको उद्देश्य हो ।
शान्ति सेनाको हतियार खोस्ने प्रयास
फोर्सका प्रवक्ता एन्ड्रिया टेनेन्तीका अनुसार शनिवार युनिफिलको नियमित गस्तीलाई दक्षिणी लेबनानको अरब अल-लुवाइजे जिल्लानजिकै “सामान्य कपडामा रहेका पुरुषहरूको एक समूह” ले रोकेर हतियार खोस्ने कोसिस गरेका थिए । उनीहरूले “सैनिकहरूलाई धम्की दिए र उनीहरूको हतियार खोस्ने प्रयास गरे,” उनले भने।
युनिफिलका शान्ति सैनिकहरूमाथि आक्रमण, धम्की र आतङ्ककारी गतिविधिहरू हुनु भने गम्भीर चिन्ताको विषय हो , र हामीले लेबनानी सशस्त्र बलहरूलाई संयुक्त राष्ट्र सङ्घको बलको सुरक्षा, सुरक्षाको र स्वतन्त्र आवतजावतको ग्यारेन्टी गर्न आग्रह गरेका छौँ,” उनले एक वक्तव्यमा भने।
लेबनानी अधिकारीहरूले शनिवारको घटनामा कुनै टिप्पणी गरेका छैनन्।
सन् २००६ मा इजरायल र हिजबोल्लाहबीचको विनाशकारी एक महिनासम्म चलेको युद्धपछि युनिफिललाई थप मजबुत पारिएको थियो।
हिजबोल्लाहले सन् १९७५-१९९० को लेबनानी गृहयुद्धको अन्त्यपछि आफ्नो हातहतियार राख्न पाउने एक मात्र गुट हो, र यसको समर्थकहरू र संयुक्त राष्ट्र सङ्घका शान्ति सैनिकहरूबिच बेला बेला तनाव भइरहन्छ, यद्यपि सामान्यतया यस्ता घटनाहरू छिट्टै नियन्त्रणमा आउने गर्दछ।
संयुक्त राष्ट्र सङ्घको अन्तरिम सेना (युनिफिल) मा विश्वभरका १०,००० शान्ति सैनिकहरू छन् । नेपाली सैनिकले पनि शान्ति सेनामा सक्रिय सहभागिता जनाउँदै आएको छ । शनिवार भएको दुर्घटनामा कुन देशका शान्ति सैनिकहरू घाइते भए जनाइएको छैन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com