इजरायलमाथी आक्रमण गर्ने इरानको तयारीसँगै अमेरिकाले मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू परिचालन गरेको छ । इरानले केही दिनमै इजरायलमा आक्रमण गर्न सक्ने भन्दै सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन लडाकु विमानहरू तैनाथ गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्ती निकालेर ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश गरिएको टोली तैनाथ गरेको उल्लेख गरेको छ । इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यापछि मध्यपूर्वमा तनाव बढेको छ ।
इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई कठोर सजाय दिने बताउँदै तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । गएको बुधवार इरानमा मारिएका हमास नेताको हत्यामा इरान र गाजाले इजरायललाई दोष लगाए पनि इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com