काठमाडौँ । सरकारले ११ देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइएको हो । भारतका डा. शङ्करप्रसाद शर्मा, बेलायतका ज्ञानचन्द्र आचार्य, अमेरिकाका प्रा. श्रीधर खत्री, इजरायलका कान्ता रिजाल, दक्षिण कोरियाका प्रा.डा. ज्योति प्याकुर्याल (भण्डारी) र कतारका नरेश विक्रम ढकाललाई पनि फिर्ता बोलाइएको छ ।
यस्तै मलेसियाका राजदूत डिल्लीराज पौडेल, साउदी अरबका नवराज सुवेदी, स्पेनका शर्मिला पराजुली, पोर्चुगलका सुनिल नेपाल र डेनमार्कका प्रा रामस्वार्थ रायलाई पनि फिर्ता बोलाइएको हो । फिर्ता बोलाइएका अधिकांश राजदूत नेपाली काँग्रेस र जनता समाजवादी पार्टी, नेपालको सिफारिसमा नियुक्त भएका थिए । पोर्चुगलका राजदूत सुनिल नेपाल गत माघमा मात्रै नियुक्त भएका थिए ।
इजरायलका लागि नेपाली आवासीय राजदूतका रूपमा कान्ता रिजाल दुई वर्ष अघि नियुक्त भएर आएकी थिइन । यसै गरी सोही वर्ष उनी साइप्रसका लागि समेत गैर आवासीय राजदूतका रूपमा नियुक्त भएकी थिइन् । सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने विगतदेखिको परम्परा रहेकाले यस पटक पनि विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको सञ्चार मन्त्री रेखा शर्माले बताइन् । उनले विगतदेखि नै यस्तो परम्परा चलिआएको भन्दै उनले यसलाई नियमित प्रक्रियाका बारेमा बुझ्न आग्रह गरिन्।
नेपालीहरू धेरैजसो महिला कामदार रहेको इजरायलमा अधिकांश केयरगिभर, सहायक नर्स र सीमित सङ्ख्यामा कृषि क्षेत्रमा कार्यरत छन् । इजरायलको नेपाली समुदायमा राजदूत रिजालको उपस्थिति र भूमिका प्रशंसनीय रहेको थियो । उनको कार्यावधि सफल र विवादरहित रहे पनि उनकै कार्यकालमा इजरायलमा इतिहासकै सबैभन्दा ठुलो र घातक आतंककारी हमला भएको थियो जसका कारण १० निर्दोष नेपालीले ज्यान गुमाउनु पर्यो भने एक जना विपिन जोशी अझै हमासको कब्जामा रहेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com