माले । माल्दिभ्सले इजरायली पोसपोर्ट बाहकहरूको प्रवेशमा रोक लगाएको छ । गाजामा मानव अधिकार हनन गरिएको भन्दै माल्दिभ्सले इजरायलमाथि कडा प्रतिबन्ध लगाएको छ उसले अब उप्रान्त इजरायली नागरिकहरुले माल्दिभ्स प्रवेश नपाउने भएका छन।
गाजामा हमाससँग इजरायलको लडाई चलिरहँदा माल्दिभ्सले यो घोषणा गरेको हो । आइतबार यसबारे माल्दिभ्सको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति नै निकालेको थियो । इजरायली भिसाबाहकहरूलाई छिर्न नदिन मन्त्री परिषद्ले कानून परिवर्तन गर्ने निर्णय गरेको छ ।
यस प्रक्रियालाई हेर्न एउटा उपसमिति पन बनाइने भएको छ । मन्त्री परिषद्को कार्यालयको सिफारिस पछि राष्ट्रपति मोहम्मद मुइज्जुले सो कदम चालेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर बाहिरिएपछि इजरायलको विदेश मामिला मन्त्रालयले इजरायली नागरिकहरूलाई माल्दिभ्सको भ्रमण नगर्न भनेको छ भने त्यहाँ बसिरहेकाहरूलाई पनि छिटै निस्कन भनेको छ ।
हाल अचानक भएको निर्णय जस्तो देखिए पनि यो घटना हठात् गरिएको निर्णय भने हैन । माल्दिभ्समा करिब लगभग छ महिना देखि इजरायली पर्यटक विरोधी गतिविधिहरू भइरहेका छन् । गत अक्टोबर हमासले इजरायलमा अन्धाधुन्ध आक्रमण गरेर उत्सव मनाइरहेका सैयौं इजरायली र विदेशी नागरिकको अपहरण र हत्या गरेपछि दुई देश बिच युद्ध चर्किएको छ ।
यसै क्रममा इजरायलले हमासमाथि कारबाही भन्दै गाजा प्रवेश गरेपछि विश्व समुदायमा प्यालेस्टिनी जनतामाथि अन्याय भएको छाप परेको छ । एकातिर इजरायलले युद्धको अपरिहार्यतालाई आफ्नो स्वाधीनताको रक्षाको लागि अनिवार्य बताउँदै आएको छ भने, धेरै शक्ति राष्ट्रहरूले जुनसुकै स्थितिमा पनि युद्ध रोकिनुपर्ने बताउँदै आएका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com