बर्लिन– जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध शुरू हुनुभन्दा अघि गरिएको निर्णयमा इजराइली राष्ट्रिय फूटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने मङ्गलवार बताएको छ ।
सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजरायली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ । ‘दुई नयाँ हस्ताक्षरित राष्ट्रिय टोलीहरूको घोषणा यो वर्षको अन्त्य र सन् २०२४ मा गरिने छ, सर्बिया र इजराइलजस्ता केही महासङ्घको सम्झौता भने सन् २०२४ मा समाप्त हुनेछ,’ कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमार्फत भने, ‘यी निर्णय सन् २०२२ मा टोली जर्सीको डिजाइन र विकासका लागि नियमित समयसीमाअनुसार लिइएको थियो ।’
सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न प्रेरित गरेको छ । अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन् । इजरायली एफएमा कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका टोलीहरू समावेश छन् ।
अक्टोबरमा गाजामा इजरायल र हमासबीचको युद्धको प्रारम्भले इजराइलको समर्थन गर्ने उत्पादनहरू बहिष्कार गर्ने लामो समयदेखिको मागलाई बलियो बनाएको छ ।
हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र दुई सय ४० बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध शुरू भएको छ । बन्धक बनाइएकामध्ये एक सय ३७ जना गाजामा रहेका छन् ।
जवाफमा इजरायलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र गाजामा व्यापक बमबारी र स्थल कारबाही सुरु गरेको छ । इजरायलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १८ हजार दुई सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com