इजरायल। गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) इजरायलको आयोजनामा १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा २५७० औं बुद्ध जयन्तीको अवसरमा “सामाजिक सुरक्षा कोष सम्बन्धी अनलाइन अभिमुखीकरण कार्यक्रम २०२६” मे १, २०२६ शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली दूतावासका कार्यवाहक राजदूत ओम कुमार भण्डारी, प्रमुख प्रशिक्षक सामाजिक सुरक्षा कोषका निर्देशक डा रोशन कोजु तथा विशिष्ट अतिथि डा हेमराज शर्मा लगायत अन्तर्राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरू, युरोप क्षेत्रीय संयोजक, विभिन्न देशका NCC अध्यक्षहरू तथा इजरायलस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी संरक्षक श्री कृष्ण भण्डारी, निवर्तमान ICC सदस्य विशाल ज्ञवाली र ज्योति शर्मा, ICC सदस्य अली महम्मद मियाँ, साथै इजरायलमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्था, मिडियाकर्मी र विश्वभरबाट जुममार्फत सहभागी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको उपस्थिति कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भोग्नुपर्ने विभिन्न जोखिमहरूबारे चर्चा गर्दै राहत, उद्दार तथा सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए। स्वदेशमा पर्याप्त अवसरको अभावका कारण विदेशिन बाध्य नेपाली श्रमिकहरूका हकहितका लागि सामूहिक आवाज उठाउन, अनुभव आदानप्रदान गर्न र सचेतना फैलाउन कार्यक्रम फलदायी भएको आयोजकको भनाइ छ।
बुद्ध जयन्तीको सन्दर्भमा विश्व शान्तिका अग्रदूत गौतम बुद्ध का सन्देशलाई आत्मसात गर्दै विश्व शान्ति, मानवता र प्रकृतिप्रतिको सम्मानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न देशबाट सहभागीहरूबीच लाइभ ‘लक्की ड्र’ आयोजना गरिएको थियो, जसबाट १० जना भाग्यशाली विजेता छनोट भएका छन्। विजेताहरूमा विजय चौधरी (इजरायल), विजय घले, पदम लामा (इजरायल), एल.बी. कटुवाल (बहराइन), राधिका शिलवाल, केशवराज खनाल (इजरायल), सुस्मा पुन, गंगादेवी गुरुङ (इजरायल), विधान केसी (जापान) र लेखबिक्रम ओली रहेका छन्।
अन्त्यमा, एनआरएनए NCC इजरायलले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र नेपालीको हितमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएको छ। साथै सबैबाट सकारात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com






















