नेपाल इजरायल डट कम जेरुसलेम । दुइवर्ष लामो भीषण रक्तपातपूर्ण युद्ध पछि इजरायल र हमास शान्तिवार्ता र युद्धको अन्त्यका लागि तयार भए । हमासले अक्टोबर ७ मा अपहरण गरेर लगेका बन्धकहरु मध्ये बाँकी रहेका ४८ जना सबैको रिहाई हुने क्रम शुरु हुदैछ । यसै क्रममा नेपालका विद्यार्थी विपिन जोशीको प्रतीक्षामा सारा नेपाली पर्खिरहेका छन यद्यपि उनको अवस्था अझै अज्ञात छ ।
यति भैरहंदा अक्टोबर ७ को हमास आतंकवादी आक्रमणमा परेर गोली लागेर बाँच्न सफल भएका रोई शालेभले सामाजिक सञ्जालमा हृदयविदारक बिदाइ सन्देश पोस्ट गरेर आफ्नै ज्यान लिएका छन ।
शालेभ सन् २०२३ अक्टोबर ७ मा भएको नोभा संगीत महोत्सवमा सहभागी थिए, जब आतंककारीहरूले गाजासँग सीमा नजिकका इस्रायली बस्तीहरूमा छिरेर हजारौँ मानिसलाई मार्याे। उनलाई ढाडमा गोली लाग्यो तर उनी बाँच्न सफल भए।
सो भयानक आक्रमणमा उनकी प्रेमिका मापाल आदम र उनका नजिकका मित्र हिली शोलोमोनलाई आतंककारीहरूले उनकै अगाडी गोली हानेर हत्या गरेका थिए।
यो हत्या–काण्ड भएको एक हप्ता पछि, शालेभकी आमा राफाएलाले पनि आत्महत्या गरिन् ।
शालेभ नेतान्या नजिकैको राजमार्ग बाहिरिने ठाउँमा जलेको कारभित्र फेला परे। इस्रायल प्रहरीका अनुसार घटनाका विस्तृत कारणबारे छानबिन सुरु गरिएको छ, यद्यपि शालेभले आफ्नो इन्स्टाग्राममा बिदाइ सन्देश छोड़ेका थिए। त्यो सन्देशमा उनले अक्टोबर ७ पछि भोग्दै आएको पीडा र क्षतिबारे लेखेका छन्। उनका साथीहरूले पनि शालेभले आफ्नी प्रेमिका आदमको निधनको घाउबाट पूर्ण रूपमा बाहिर निस्कन नसकेको बताउँदै आएका थिए ।
म भित्रैदेखि मरेँ
“म साँच्चै क्षमाप्रार्थी छु। अब म यो विछोडको पीडा सहन सक्दिनँ। म भित्रैबाट जलेको छु । मैले धेरै कोसिश गरेँ तर अब यसलाई थाम्न सक्दिनँ । यस्तो पीडा र दुःख मैले जीवनमा कहिल्यै महसुस गरेको थिइनँ— यो गहिरो वियोगले मलाई खाइरहेछ, भित्रैबाट जलाइरहेको छ ,” यस्तो भनेर शालेभले आफ्नै इन्स्टाग्राममा लेखे ।
“अब म अघि बढ्न सक्दिनँ। बा, लिओर र ईदो—म तपाईंहरूलाई संसारकैभन्दा धेरै माया गर्छु। म धेरै नै दुःखी छु। मेरा इजरायल र संसारभरिका साथीहरू—म तपाईंहरूलाई माया गर्छु। केशेत, म तिमीलाई माया गर्छु। कृपया मैले गरेको निर्णयमाथि नरिसाउनुहोला । कसैले पनि मलाई पुरै बुझ्दैन, किनकि बुझ्न सम्भव पनि छैन। म चाहन्छु यो कष्टको अन्त्य होस्। म बाँचिरहेको भएपनि तर भित्रैदेखि, म पहिले नै मरिसकेको थिएँ ।
कृपया मलाई राम्रो पक्षबाट सम्झिदिनु होला । जसले मलाई चिन्थ्यो, उसलाई थाहा छ —म सधैं राम्रो गर्न चाहन्थें । म क्षमाप्रार्थी छु।”
नोभा ट्राइब कम्युनिटी एशोसिएसनले शालेभको निधनप्रति समवेदना व्यक्त गर्दै भन्यो,
“अक्टोबर ७ का पीटीएसडी (आघातपछिको तनाव) भोग्ने धेरै मानिसहरू अझै पनि त्यही दिनदेखि भयानक र जटिल क्षणहरूबाट गुज्रिरहेका छन्। खासगरी बचेकाहरू र शोकग्रस्त परिवारहरूको मानसिक अवस्थाप्रति सबैजना निरन्तर चौकस र अत्यन्त संवेदनशील हुन आग्रह गर्दछौं।”
उनको पोस्ट देखिएलगत्तै नोभा ट्राइब र उनका साथीहरूले उनलाई फोन गरे, उनको फोन नउठेपछि खोजी सुरु गरे। सिसिटिभीमा हेर्दा उनी पेट्रोल पम्पमा क्यानमा इन्धन भर्दै गरेको देखियो। त्यसपछि चाँडै नै उनको गाडी जलेको अवस्थामा भेटियो र भित्रै उनको शव फेला पर्नुका साथै घटनास्थलमै उनलाई मृत घोषित गरियो।
शालेभ परिवारले एक वक्तव्य जारी गर्दै उनको निधनको सूचना दियो र “कृपया सम्पर्क नगर्नुहोस्” भनी अनुरोध गर्यो। अन्त्येष्टि समारोहको विवरण “छुट्टै जानकारी गराइने” भनिएको छ।
नोभा ट्राइबले शालेभलाई आफ्ना समुदायका स्तम्भमध्ये एक भन्दै, उनको मृत्यु “अपुरणीय क्षति” भएको बताए। “हामी सबैलाई उनको सबैभन्दा सुन्दर क्षणहरू सम्झन अनुरोध गर्छौँ—समुदायप्रतिको उनको साहसी साथ, नोभा ट्राइब बास्केटबल टिमका क्याप्टेनको रूपमा नेतृत्व, र कठिन समयमै साथीहरूलाई गरेको उनको समर्पण।”
उनको निधनको खबर पाएपछि युट्युबर तथा बास्केटबल प्रशिक्षक बाराक स्वार्ट्जले आफूले गत वर्ष लस एन्जलसको कोर्टमा लिएको अन्तर्वार्ता स्मरण गर्दै प्रतिक्रिया पोस्ट गरे। त्यस अन्तर्वार्तामा शालेभले आफू कसरी बाँच्न सफल भएँ तर प्रियजनलाई कसरी गुमाएँ भन्ने पीडादायी कथा सुनाएका थिए—आतंककारीहरू वरिपरि हिँडिरहँदा आफू मरेजस्तो अभिनय गरेको, दुई पटक गोली लाग्दा पनि बाँचेको अनुभव बताए।
एक बर्ष अगाडी शालेभले लस एञ्जेल्समा दिएको युट्युव अन्तर्वार्ता भिडियो
शालेभको मृत्युसँग सम्बन्धित जानकारी पुष्टि भएपछि उक्त युट्युबरले पिन गरिएको टिप्पणी थपे, “प्रिय युट्युब समुदाय—रोईले आफ्नै ज्यान लिए। उनी अब पीडा सहन सकेनन्। कृपया उनको परिवार र प्रियजनहरूलाई सान्त्वना संदेश पठाउनुहोस्। मन तारतम्य विहीन भएको छ,” भन्दै स्वर्गदूतका पखेटा, बत्ती र टुटेको मुटुको इमोजी राखे।
अन्य केही बचेकाहरूले पनि आत्महत्या गरेका छन्। तीमध्ये नोभा आक्रमणमा परेर बचेकी शिरिएल गोलानले आक्रमण भएको एक वर्षपछि, रिपोर्टअनुसार आफ्नो २२औँ जन्मदिनकै दिन, आत्महत्या गरिन्। यद्यपि ठ्याक्कै संख्या पुष्टि छैन, सन् २०२४ अप्रिलमा इस्रायली मिडियामा नोभा आक्रमणमा परेर बचेका गाय बेन शिमोनले क्नेस्सेटमा “नोभा बचेकामध्ये झण्डै ५० जनाले आत्महत्या गरेको” दाबी गरेको समाचार आएको थियो। तर इस्रायलको स्वास्थ्य मन्त्रालयले ५० को दाबी अस्वीकार गर्दै, त्यसलाई प्रमाणित गर्ने कुनै अभिलेख नभएको र गत साल अप्रिल २०२४ सम्म सम्बन्धित आत्महत्याको संख्या १० भन्दा कम रहेको बताएको थियो । परिवारको गोपनीयता लगायतका कारणले अद्यावधिक संख्या सार्वजनिक रूपमा उपलब्ध छैनन्।
इजरायली गैरसरकारी संस्था ‘एलेम: युथ इन डिस्ट्रेस’ ले शालेभलाई अक्टोबर ७ पछिको आघातसँग जुध्नका लागि गरिएको सक्रियता र वकालतका कारण “लाइफसेभर अवार्ड” प्रदान गरेको थियो। पुरस्कार बुझेका बेला उनले भनेका थिए, “म हाम्रो समुदाय पुनर्निर्माणमा सहयोग गर्न संकल्पित छु—यस्तै त्रासदीले जीवन टुटेका मानिसहरूलाई आशा र सहारा दिन। त्यसैले, म विनम्रतापूर्वक तपाईंहरूको सहयोग माग्छु।” उनले थपे, “संगठित सहयोग वा सचेतना बढाउने काम—प्रत्येक दयाका कामहरूले अर्थ राख्छ। पीडा र शोकबीच पनि म एउटा सत्य समातेको छु: हामी फेरि नाच्नेछौँ। हामीबाट लुटिएको खुसीलाई फिर्ता ल्याएर सबैका लागि उज्यालो भविष्य बनाउनेछौँ।”
नोट: यदि तपाईं वा तपाईंले चिनेको कोही गम्भीर मानसिक तनाव वा आत्महत्यासम्बन्धी विचारबाट गुज्रिरहेका छन् भने, कृपया तुरुन्तै स्थानीय आपतकालीन सहायता नम्बर, नजिकको स्वास्थ्य सेवा केन्द्र वा विश्वासिलो व्यक्तिसँग सम्पर्क गर्नुहोस्। तपाईंको जीवन अमूल्य छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com