अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्ध अन्त्यका लागि सार्वजनिक गरेको २० बुँदे युद्धविराम योजनाले गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था चाँडै सार्वजनिक हुने सम्भावना देखिएको छ।
सोमबार राति वासिङटनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि ट्रम्पले सार्वजनिक गरेको योजनामा बन्दीहरूको तत्काल अवस्था खुलासा र रिहाइलाई प्राथमिकता दिइएको छ। योजनाको तेस्रो बुँदामा भनिएको छ, “हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ।”
गाजामा हमासद्वारा २०२३ अक्टोबर ७ मा अपहरणमा परेका विपिन जोशी पनि त्यही सूचीमा रहेका छन्। यदि हमासले ट्रम्पको योजना स्वीकार गर्यो भने जोशीको अवस्थाबारे तीन दिनभित्र जानकारी सार्वजनिक गर्नुपर्नेछ।
योजनाअनुसार, हमासले इजरायली बन्दीहरू छोड्ने सर्तमा इजरायलले २५० आजीवन सजाय पाएका कैदी र १७०० अन्य कैदीहरूलाई रिहा गर्नेछ। प्रत्येक इजरायली बन्धकको अवशेषको बदलामा इजरायलले १५ मृत गाजावासीको अवशेष प्रदान गर्ने विषय पनि प्रस्तावमा समावेश छ ।
ट्रम्पको योजना अनुसार गाजामा युद्धविराम लागू गरी अस्थायी प्रशासनिक बोर्ड गठन गरिनेछ, जसको अध्यक्षता उनी स्वयंले गर्ने घोषणा गरेका छन्। साथै, हमासका सबै हतियार हटाइने र गाजा क्षेत्रमा दीर्घकालीन स्थायीत्व कायम गरिने प्रस्ताव गरिएको छ।
तर, हमासले भने आफूहरूलाई यस्तो कुनै औपचारिक प्रस्ताव प्राप्त नभएको दाबी गर्दै हतियार नछाड्ने अडान दोहोर्याएको छ।हमासले हतियार नछाड्ने अडानसंगै यो योजना पनि कार्यान्वयन हुनेमा आशंका पनि बढेका छन
पत्रकार सम्मेलनमा ट्रम्पले चेतावनी दिँदै भने, “यदि हमासले योजना अस्वीकार गर्यो भने, इजरायलसँग उसलाई समाप्त पार्ने सम्पूर्ण अधिकार हुनेछ, र अमेरिकाले पूर्ण समर्थन दिनेछ।”
योजना कार्यान्वयनपछि पहिलो चरणमा २० जीवित इजरायली बन्धक र मृत मानिएकाका अवशेष सार्वजनिक गरेपछि इजरायलले हिरासतमा रहेका सयौँ गाजावासीलाई रिहा गर्नेछ ।
दुवै पक्ष प्रस्तावमा सहमत भएपछि ‘गाजापट्टीमा तुरुन्तै पूर्ण सहायता पठाइने’ प्रावधान त्यसमा राखिएको छ ।
अमेरिकाले गाजाको भविष्य शासनको रूपरेखा पनि प्रस्तुत गरेको छ । त्यहाँ अस्थायी रूपमा एक प्राविधिक, अराजनैतिक प्यालेस्टाइनी समितिले शासन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसलाई ‘शान्ति बोर्ड’ नामक नयाँ अन्तर्राष्ट्रिय संक्रमणकालीन निकायको निरीक्षण र पर्यवेक्षणमा राखिनेछ । ह्वाइट हाउसले यो निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने जनाएको छ ।
बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र अरू केही नेता पनि उक्त निकायको हिस्सा रहनेछन् । ब्लेयरले योजनालाई ‘साहसी र बुद्धिमानीपूर्ण’ भनेका छन् ।
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हमासले गाजाको शासनमा कुनै भूमिका नपाउने प्रस्ताव छ । योजनाको मुख्य भाग गाजाको पुनर्निर्माणका निम्ति अमेरिकाले अघि सारेको आर्थिक विकास कार्यक्रममा केन्द्रित छ । त्यसमा इजरायलले गाजामा कब्जा वा विलय नगर्ने र उसका सैनिकहरू चरणबद्ध रूपमा उक्त क्षेत्रबाट फिर्ता हुने भन्ने विषय समावेश छ ।
हमासको अपहरणमा परेका विपिन जोशीको बारेमा सम्पूर्ण टाइम्लाइन र अपडेटहरु यो लिंकबाट हेर्न सक्नुहुनेछ
योजनाअनुसार, अन्ततः प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखिएको छ । योजना दोहामा हमासका अधिकारीलाई हस्तान्तरण गरिएको छ । यसमा कतार र इजिप्टका अधिकारीले मध्यस्थता गरेका थिए ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि यदि हमासले प्रस्ताव अस्वीकार गरेमा इजरायल आफैंले गाजामा प्रशासन स्थापना गर्ने र आतंक समूहलाई नष्ट गर्ने चेतावनी दिएका छन्।
यो योजना कार्यान्वयन भएमा गाजामा रहेका बन्दीहरूको अवस्था पहिलो पटक आधिकारिक रूपमा खुल्नेछ, जसले नेपाल सरकार र विपिन जोशीका परिवारलाई समेत राहत दिने सम्भावना रहेको छ। यद्यपि, हमासको अस्वीकार र क्षेत्रीय तनावका कारण योजनाको भविष्य अझै अन्योलमा छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com