जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । उपचारको क्रममा १९ जनाको निधन भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए ।
नयाँ बानेश्वरको प्रदर्शनमा गोली लागेपछि विभिन्न अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्रका ९ जना घाइते भएका छन् ।
७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
इटहरीमा जेन–जीको आन्दोलनमा गोली चल्यो, दुई जनाको मृत्यु
इटहरीमा पनि प्रहरीको गोलीबाट दुई जनाको ज्यान गएको छ । जेन–जी प्रदर्शनकारीले बिहानैदेखि सडकमा सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । प्रदर्शन उग्र बन्दै जाँदा इटहरी उपमहानगरपालिकामा आगजनी सुरु भएको थियो ।
प्रदर्शनकारीले पालिकाका महत्त्वपूर्ण कागजपत्र सडकमा फालेर आगो लगाएका थिए भने नगरप्रमुख हेमकर्ण पौडेलको कार्यालय भएको भवन आगो लगाएर पूर्णरूपमा क्षति पुर्याइएकाे थियो । सोही घटनालाई नियन्त्रण प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई पुरुषको ज्यान गएको हो ।
उनीहरूलाई घाइते भएलगत्तै धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकाे थियाे । तर, चिकित्सकले अस्पताल पुर्याएलगत्तै मृत घाेषणा गरेका थिए । उनीकाे पहिचान हुन सकेकाे छैन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com