करिब २ बर्ष देखि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीमा उनका बहिनी पुष्पा र आमा पदमा जोशी इजरायल आउनु भएको थियो । दाजु खोज्न इजरायल आइपुगेकी बहिनीको चित्कार र बिलौनाले सारा संसारको मन रोयो । उहाँहरू भर्खरे इजरायलबाट स्वदेश फर्किसक्नु भएको छ । एक साहसी बहिनी पुष्पालाई हौसला र सान्त्वनास्वरुप इजरायलमा रहेका पत्रकार तथा सामाजिक अभियन्ता खेमराज जम्मर कट्टेलले लेख्नु भएको पत्र … ।
प्रिय बैनी पुष्पा
बैनी, तपाईँलाई सम्बोधन गर्दा शब्दहरू नै बोझिला हुन्छन्। तपाईँको पीडा शब्दभन्दा ठुला छन्, तपाईँको आँसु शब्दभन्दा गहिरा छन्। तर पनि यो खुला पत्र लेख्न बाध्य छु किनकि तपाईँको सङ्घर्ष, तपाईँको पुकार केवल तपाईँको व्यक्तिगत कथा होइन, सम्पूर्ण नेपालीहरूको सामूहिक पीडा हो र बनिरहेको छ ।
अक्टोबर ७ २०२३ को त्यो कालो बिहानी पछि तपाईँको संसार उल्टियो। विपिन हमास आतङ्ककारीहरूको हातमा परेपछि तपाईँको जीवन केवल एक सामान्य बहिनीको जीवन रहेन ! त्यो सङ्घर्ष, आँसु र प्रतीक्षाको कथा बन्यो।
बैनी, हामी सबैले देख्यौँ देखिरहेका छौ । तपाईँले इजरायल आएर आमासँगै हरेक यहाँका ढोका ढक्ढक्याईरहनु भएको । इजरायली प्रधानमन्त्रीको कार्यालयमा पुगेर आँसु झार्दै “मेरो दाजु फर्काइदिनुहोस्” भनेको, राष्ट्रपति हर्जगको घरमा पुगेर करुण पुकार गरेको र विदेशी कूटनीतिज्ञ, दूतावास, मानवअधिकार संस्था जहाँ पुग्न सकिन्छ, तपाईँ त्यहाँ पुग्नुभयो पुगिरहनु भएको । तेल अभिवको Hostage Square मा ५० हजारभन्दा बढी मानिसहरूको भिड अगाडि तपाईँले हात जोडेर, आँखाभरि टिलपिल आँसु पारेर चिच्याउँदै भन्नुभयो “दाजु, तँ कहाँ छस्? म तिमीलाई खोज्दै छु।”
त्यो आवाजले केवल इजरायलमा मात्र होइन, सम्पूर्ण संसारलाई छोयो। त्यो पुकार केवल एक बहिनीको आवाज मात्र थिएन, त्यो सम्पूर्ण नेपाली समुदायको हृदय विदारक स्वर थियो।
पुष्पा बैनी, तपाईँको आँसुमा एउटा परिवारको पीडा मात्र होइन, सम्पूर्ण राष्ट्रको पीडा मिसिएको छ। तपाईँलाई देख्दा हामीलाई चेली माइतीको त्यो पवित्र नाता सम्झिन्छ, जुन हाम्रो संस्कृतिको आत्मा हो।
अहिले संसारभर नेपाली चेलीहरू तीज मनाइरहेको बेला तपाईँको पीडा अझ दुख्छ होला। नेपालमा दिदीबहिनीहरू हरियो चुरा, व्रत बस्दै, मेहन्दी लगाएर रमाइरहेका छन् तर तपाईँलाई त त्यो भाग्यले नै लुटेको जस्तो भएको छ । पीडामय प्रतीक्षा बनेको छ।
हामी जस्ता विदेशमा बस्ने कयौँ नेपालीहरूलाई तीज–तिहार जस्ता पर्वहरूमा माइती नपाउँदाको पीडा हुन्छ। तर तपाईँको पीडा हाम्रो भन्दा अनन्त गुणा गहिरो छ। किनभने तपाईँले केवल पर्वहरूको रमाइलो गुमाउनु भएको छैन, तपाईँले आफ्नै दाजुको अनुहार पनि केही वर्षबाट हेर्न गुमाउनु भएको छ। त्यो पीडा असह्य छ, सारै पिडादायक छ ।
प्रिय बैनी,
तपाईँले जुन साहस इजरायलमा आएर देखाउनुभएको छ, त्यो असामान्य छ । आमासँगै दिनरात गरेर दाजुको रिहाइको लागि दुनियाँभर पुकार गर्नु, त्यो पुकारलाई आँसु र पीडाभन्दा माथि उठाएर न्याय र मानवताको आवाज बनाउनु यो हामी सबै नेपालीहरूका लागि प्रेरणा हो।
विश्वास राख्नुहोस् बैनी प्रेम, परिवार र बहिनीको पुकार संसारकै सबैभन्दा ठुलो शक्ति हो। त्यो शक्तिले ढिलो चाँडो भए पनि ढोका खोल्छ, बाटो देखाउँछ, अनि चमत्कार गर्छ। हामी सबैको प्रार्थना एउटै छ । एउटा बिहान तपाईँको दाजु फर्कनुहुनेछ। त्यो दिन तपाईँको आँखामा दुःखको आँसु होइन, खुसीको आँसु हुनेछ। त्यो दिन “दाजु फर्के” भन्ने समाचारले नेपाल र इजरायल, विश्वभरका नेपाली समग्र दुनियाँलाई उज्यालो बनाउनेछ।
बैनी, तपाईँ एक्लो हुनुहुन्न। तपाईँको सङ्घर्षमा हामी सबै नेपालीहरू उभिएका छौँ। तपाईँको आँसु हाम्रो प्रार्थना हो, तपाईँको साहस हाम्रो दीपक हो, तपाईँको पुकार हाम्रो आवाज हो।
हामी सधैँ तपाईँको साथमा छौ ।
खेमराज जम्मर कट्टेल
इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj