तेल अभिभ, इजरायल – गाजा युद्ध निर्णायक चरणतर्फ उन्मुख भइरहेको छ। गाजा पट्टीको उत्तरी भागमा अवस्थित गाजा सिटी माथि पूर्ण नियन्त्रण लिन इजरायली सुरक्षा क्याबिनेटले इजरायली रक्षा बल (आईडीएफ) लाई स्वीकृति प्रदान गरेको छ। झण्डै १० घण्टा लामो बैठकपछि गरिएको यो निर्णयलाई रणनीतिक मोर्चामा ठूलो कदमको रूपमा हेरिएको छ।
इजरायली सेनाले हालसम्म गाजा क्षेत्रको करिब ७५ प्रतिशत भूभागमा नियन्त्रण कायम गरिसकेको दाबी गर्दै आएको छ। बाँकी २५ प्रतिशत क्षेत्र, विशेषतः गाजा सिटी, अझै हमासको प्रभावमा रहेको उल्लेख गरिएको छ। यिनै क्षेत्रहरूमा अझै पनि इजरायली बन्धकहरू रहेको आशंका गरिएको छ। यसैकारण, सेनाले हालसम्म कारबाही नगरेका भागहरूमा अब छिर्ने तयारी गरेको छ।
हमासलाई इजरायलको पाँच अडान
इजरायलले हमासलाई शान्ति प्रक्रियामा समावेश हुनका लागि पाँच स्पष्ट सर्तहरू अगाडि सारेको छः
हथियार पूर्ण रूपमा विसर्जन गर्नुपर्ने,
बाँकी ५० जना इजरायली बन्धकहरूको रिहाइ, जसमा २० मात्र जीवित रहेको अनुमान,
गाजाबाट हमासको सम्पूर्ण सैन्य संरचना समाप्ति,
गाजामा इजरायली सुरक्षा नियन्त्रण कायम रहने,
हमास र प्यालेस्टिनी प्रशासनको सट्टामा नयाँ नागरिक प्रशासनको स्थापना।
नेतन्याहूको भनाइ : “हाम्रो लक्ष्य कब्जा होइन, आतंकको अन्त्य हो”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथि स्थायी कब्जा गर्ने उद्देश्य नरहेको स्पष्ट पार्दै भनेका छन्,
“हाम्रो लक्ष्य गाजालाई हमासको आतङ्कबाट मुक्त गर्नु हो, जसले गर्दा नागरिकहरू स्वतन्त्र बाँच्न सकून् र शासन एक उत्तरदायी अरब शक्तिलाई हस्तान्तरण गर्न सकियोस्।”
उनले थप स्पष्ट पारे, इजरायलले गाजाको सुरक्षा नियन्त्रण मात्र कायम राख्नेछ, तर नागरिक शासनमा हस्तक्षेप नगर्ने नीतिमा कायम रहनेछ।
सेनापतिसँगको असहमति : नेतन्याहूको ‘बिग गाजा प्लान’माथि विवाद
प्रधानमन्त्री नेतन्याहूको गाजालाई पूर्ण रूपमा कब्जा गर्ने योजनालाई ‘बिग गाजा प्लान’ भनिएको छ। तर यस योजनाप्रति सेनाप्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरले गम्भीर आपत्ति जनाएका छन्। उनका अनुसार यस्तो कारबाहीले गाजामा रहेका बाँकी इजरायली बन्धकहरूको सुरक्षामा खतरा उत्पन्न हुन सक्छ।
तर नेतन्याहूका नजिकका राजनीतिक सहयोगीहरूले जनरल जमीरमाथि तीव्र आलोचना गर्दै उनको राजीनामा माग गरेका छन्। एक नेताले टिप्पणी गरे, “अब निर्णय भइसकेको छ। यदि सेनापतिलाई यो निर्णय स्वीकार्य छैन भने, उनले पदबाट राजीनामा दिनुपर्छ।”
गाजामा अब निर्णायक युद्धको संकेत देखिन थालेको छ। इजरायली रणनीति ‘हमासमुक्त गाजा’ निर्माणतर्फ केन्द्रित हुँदै गइरहेको छ। तर यस प्रक्रियाले बाँकी रहेका बन्धकहरूको जीवन, मानवीय अवस्थाको थप जटिलता, र क्षेत्रीय अस्थिरताको जोखिम पनि निम्त्याउन सक्ने विश्लेषणहरू आइरहेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com