शनिवार सेनाले हिज्बुल्लाह समर्थकहरूको भीड तितरबितर गर्न अश्रुग्याँस प्रहार गर्यो। ती समर्थकहरूले बेरुत हवाई अड्डा जाने बाटो अवरुद्ध गरेका थिए। यो विरोध हिज्बुल्लाह समूहको आधिकारिक आह्वानमा गरिएको थियो, जसको उद्देश्य लेबनानले दुई इरानी विमानलाई बेरूत अवतरण गर्न प्रतिबन्ध लगाएको निर्णयको विरोध गर्नु थियो।
भिडियो फुटेजमा देखिएअनुसार, हिज्बुल्लाह अधिकारी महमुद कामातीको भाषणका क्रममा शान्तिपूर्ण प्रदर्शनकारीहरूमा अश्रुग्याँसका क्यानिस्टरहरू खसालिएको थियो। तर सेनाका स्रोतहरूले टेलिभिजन सञ्जाललाई बताएअनुसार अश्रुग्याँस त्यसपछि मात्रै प्रयोग गरिएको थियो जब अन्य प्रदर्शनकारीहरूले “हवाई अड्डा मार्ग अवरुद्ध गरेका र सैनिक सवारी साधनहरूमा आक्रमण गरेका” थिए।
एक सैन्य अधिकारीले भने आन्दोलनकारीहरूसँग हवाई अड्डा मार्ग अवरुद्ध नगर्ने सहमति भएको थियो।
हिज्बुल्लाह सांसद हसन फदलल्लाहले यस घटनालाई “लेबनानी सेनाका सैनिकहरूले शान्तिपूर्ण रूपमा हवाई अड्डा मार्गमा प्रदर्शन गरिरहेका महिला र बालबालिकामाथि गरेको अन्यायपूर्ण र अचानक हमला” भनेर निन्दा गरे।
“यो एक शङ्कास्पद आक्रमण हो, जसले सेना र जनतालाई एक अर्कासँग ठोक्काउने उद्देश्य राखेको छ। त्यसैले हामी सेना कमान्डलाई यस घृणित हमलामा संलग्न व्यक्तिहरूलाई जबाफदेही बनाउन आह्वान गर्छौँ। यसले सेना र यसको नागरिक शान्ति सुरक्षा गर्ने भूमिकालाई बचाउन मद्दत गर्नेछ, ताकि सेना दमनको उपकरणमा परिणत नहोस्। साथै, हाम्रो जनताको इच्छाको विरुद्ध नजाओस् ” फदलल्लाहले थपे।
लेबनानमा इरानी विमान अवतरण गर्न नदिएपश्चात् हिजबोल्लाह समूह सरकारप्रति आक्रोशित बनेका थिए । विशेष गरी दक्षिणी लेबनानमा सक्रिय हिजबोल्लाह इरान समर्थित सशस्त्र लडाकु समूह हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com