नेपाल इजरायल डट कम –
काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले “डिजिटल अरेस्ट” को डर देखाएर सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादव रहेका छन्। उनीहरूलाई प्रहरी अधिकारीहरूको नाम, दर्जा र ईमेल ठेगाना दुरुपयोग गरी ठगी गरेको आरोप लागेको छ।
ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार, मेहता र यादवले नेपाल प्रहरीको नाममा नक्कली ईमेल पठाई पीडितहरूलाई कानुनी कारबाहीमा पार्ने डर देखाएर रकम असुल्ने काम गर्दै आएका थिए। साइबर ठगीको यो नयाँ प्रवृत्ति सार्वजनिक भएपछि गुनासोहरू दर्ता हुन थालेका थिए, जसका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
माघ २० गते पक्राउ परेका यी दुई विरुद्ध विद्युतीय ठगीसम्बन्धी मुद्दा चलाइएको छ। अदालतबाट सात दिनको म्याद थप गर्दै प्रहरी अनुसन्धान जारी राखिएको छ। साइबर अपराध बढ्दै गएको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ भने यस्ता शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।
नेपाल इजरायल.कम