तेल अविव -गैर आवासिय नेपाली संघ (एनआरएनए) इजरायलले हमासको आक्रमणमा परी नेपालमा उपचाररत धनबहादुर चौधरी र जाजरकोट-रुकुमका भूकम्प पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एनआरएनए इजरायलद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार भूकम्प पीडित जनताको सहयोगका लागि १ लाख रुपैयाँ र उपचाररत विद्यार्थी चौधरीको उपचारका लागि ५० हजार नगद सहयोग उपलब्ध गराएको जनाएको छ ।
हमासको आक्रमणमा परी घाइते भई नेपाल फर्किएका चौधरीको औषधी उपचारको खर्च मात्र सरकारले बेहोरेको र उपचार बाहेक अन्य खर्च जुटाउन नसकेपछि नियमित उपचारमा आर्थिक अभाव हुन नदिन एनआरएन इजरायलले ५० हजार उपलब्ध गराएको हो ।
एनआरएनए इजरायलले चौधरीको उपचारसहित अन्य खर्च व्यवस्थापनमा समेत सरकारले सहयोग गर्नु पर्ने माग राख्दै उपचारमा अतिरिक्त रकम सहयोग गरेको हो । चौधरीले उपचार बाहेक अन्य क्षेत्रमा खर्च अभाव भएपछि एनआरएनए इजरायललाई आर्थिक सहयोग गर्न अनुरोध गरेपछि एनआरएनए इजरायलले सहयोग उपलब्ध गराएको थियो ।
यसैगरी जाजरकोट-रुकुममा गएको भूकम्पमा परी मृत्यु तथा घाइते भएका नेपाली प्रति समवेदना तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गदै तत्काललाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको एनसिसि इजरायलले जनाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com