प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादमा जोड दिन आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।
निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएको बताए।
प्रधानमन्त्रीले भने, ‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरुका लागि उदाहरण बनेको छ। अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं ।’
प्रधानमन्त्रीले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराएका थिए। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरुमा सदैव साथ दिने बताए।
उनले नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए। ‘विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ,’प्रधानमन्त्रीले भने,’हामी संयुक्त राष्ट्र संघका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताइन् ।
उनले नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको बताइन्। सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरे।
This is an advertisement, click here to display your banner
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com