काठमाडौं — लक्ष्मी सनराइज बैंकले इजरायलमा बस्ने नेपाली लाई आफ्नो स्थायी प्रतिनिधिमार्फत बैंकिङ सेवा पुनः सुरु गरेको छ। बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउन बैंकले स्थायी प्रतिनिधिमार्फत बैंकिङ सेवा शुरु गरेको हो।
इजरायलमा रहेका नेपालीले अब बैंकले तोकेको प्रतिनिधिमार्फत सबै सेवा सुविधा लिन सक्ने जनाएको छ। इजरायलबाट नै साधारण बचत तथा रेमिट्यान्स बचत खाता खोल्न सकिने बैंकले जनाएको छ। अन्य खाताको तुलनामा रेमिट्यान्स खातामा बढी ब्याज पाइनेछ। बचत खातामा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा, ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा नि:शुल्क पाइने बैंकले जनाएको छ।
ग्राहक पहिचान विवरण (केभीसी) अद्यावधिक गर्न तथा हितग्राही खाताहरू इजरायलबाट पुनः सुरु गर्न सकिनेछ। इजरायलकै मोबाइल नम्बर दर्ता गरी सजिलै मोबाइल बैंकिङ सुविधा प्रयोग गर्न सकिनेछ। ग्राहकका चाहनाअनुसार एक बैंकबाट अर्को बैंकमा रकमानान्तरण गर्न, मोबाइल रिचार्ज गर्न, बिजुली, पानी, इन्टरनेट लगायतका महसुल समेत तिर्न सकिनेछ। इसेवा र खल्तीमा पैसा लोड गर्नेलगायत काम इजरायलमा बसेर गर्न सक्ने बैंकले जनाएको छ।
कमदारलाई छुट्याइएको १० प्रतिशत इजरायलबाटै प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिन सकिने जनाएको छ। इजरायलसँगै दक्षिण कोरिया, मलेसिया, साउदी अरब, भारत तथा यूएईबाट पनि बैंकले तोकेको स्थायी प्रतिनिधिमार्फत बैंकिङ सेवा दिने जनाएको छ। लक्ष्मी सनराइज बैंकको देशभर २६२ वटा शाखा सञ्चालनमा छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com