इजरायली र हमासका अधिकारीले गाजामा आगामी सोमबारभित्रै युद्धविराम हुँदै छ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइलाई अस्वीकार गरेका छन् । यसले दुई हप्ताको अवधिभित्र आउन लागेको मुसलमान धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु हुनुअघि अस्थायी युद्धविराम लागू हुने आशामा प्रश्न उठाएको छ ।
हमासका राजनीतिक विभाग प्रमुख बसेम नइमले मंगलबार ह्वाट्सएपमार्फत गार्जियनलाई दिएको जवाफमा आफूहरूले गत साता पेरिसमा अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा अप्रत्यक्ष शान्ति वार्ता भएदेखि युद्धविरामको विषयमा औपचारिक रूपमा कुनै नयाँ प्रस्ताव प्राप्त नगरेको बताए । मार्च ४ सम्ममा गाजामा अस्थायी युद्धविराम लागू हुने अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी ‘समयपूर्व’ आएको र ‘धरातलीय यथार्थसँग मेल नखाने खालको’ भएको नइमले भने । बेरुतमा रहेका हमासका प्रतिनिधि अहमद अब्देल–हादीले पनि लेबनानी प्रसारकसँगको कुराकानीमा युद्धविरामसम्बन्धी सम्झौतामा उल्लेखनीय प्रगति नभएको बताएका छन् ।
उता इजरायली अधिकारीले पनि नाम नछाप्ने सर्तमा रोयटर्ससँग गरेको कुराकानीमा बाइडेनको टिप्पणी आश्चर्यजनक रूपमा आएको बताउँदै सो टिप्पणी देशको नेतृत्वसँग समन्वयमा नगरिएको बताए ।
हमासले ‘असामान्य मागहरू’ गरिरहेकाले सम्झौतामा पुग्न कठिन भएको पनि तिनले बताएको रोयटर्सले लेखेको छ । हमास नेता र इजरायली अधिकारी दुवैको टिप्पणीले न्युयोर्कमा बाइडेनले गरेको टिप्पणीमा चिसो पानी खन्याइदिएको छ ।
बाइडेनले सोमबार एनबिसीको लेट नाइट विथ सेथ मेयर्समा सहभागिता जनाएपछि पत्रकारसँग बोल्ने क्रममा भनेका थिए, ‘मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारले मलाई हामी (युद्धविराम)को नजिकै छौँ भनेका छन् । हामीले सम्झौता गर्न नसके पनि त्यसको नजिक छौँ ।’
सम्झौताको एक प्रस्तावमा छलफल भइरहेको भए पनि त्यसमा सहमति जुट्न अझै धेरै कसरत गर्नुपर्ने दुवै पक्षले बताएका छन् । छलफलमा रहेको सम्झौता पछिल्लो प्रस्तावमा गाजामा ४० दिनका लागि सबै सैन्य अप्रेसन रोक्ने, इजरायली जेलमा रहेका १० प्यालेस्टिनी कैदीको अनुपातमा एकजना हमासको नियन्त्रणमा रहेका बन्धक छाड्ने विषय छन् । मस्यौदाका जानकारका अनुसार हमासले महिला, १९ वर्षमुनिका बालबालिका, ५० वर्षभन्दा माथिका व्यक्ति र बिरामीसहित ४० जना इजरायली बन्धकलाई रिहा गर्ने र बदलामा इजरायलले आतंकवादी अपराधमा सजाय पाएका केही उच्च तहका कैदीसहित करिब ४०० बन्दीहरूलाई रिहा गर्ने उल्लेख भएको बताइएको छ ।
त्यस्तै प्रस्तावमा युद्धविरामको समयमा गाजाका अस्पताल र बेकरी मर्मत गरिने, इजरायलले रोकिराखेकामध्येबाट प्रत्येक दिन ५०० सहायता ट्रकहरू गाजामा प्रवेश गर्न दिने र विस्थापितहरूको अस्थायी वासका लागि हजारौँ पाल पठाउन दिने विषय छन् । त्यस्तै प्रस्तावमा थप अगाडि सैन्य उमेरका पुरुषबाहेक अन्य नागरिकलाई बिस्तारै उत्तरी गाजामा फर्कन अनुमति दिइने विषय पनि छ ।
तर, कतारमा शरण लिइरहेका हमासका शीर्ष नेतृत्वले भने गाजापट्टीमा रहेका सबै इजरायली सेना फिर्ता नभएसम्म बन्धकहरू रिहा नगरिने बताउँदै आएका छन् । यही मागमा अहिले सम्झौता अड्किएको केही इजरायली अधिकारीले बताएका छन् । त्यस्तै नेतान्याहुले बारम्बार अस्थायी युद्धविराम भए पनि गाजाको दक्षिणी सहर रफाहमा इजरायली स्थल आक्रमण नटर्ने बताउँदै आएका छन् । युद्धविराम अन्त्य भए पनि सो अभियान चल्ने उनले बताएका छन् । हाल गाजाका आधाभन्दा बढी जनसंख्याका लागि रफाह शरणस्थान बनेको छ ।
बाइडेनले युद्धविरामको बिषयमा के दावी गरेका थिए ?
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com