तेल अविभ । नेपालमा युवा नेतृत्वमा चलेको GenZ आन्दोलनका क्रममा नष्ट भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि इजरायलमा रहेका नेपाली समुदायले महत्वपूर्ण योगदान पुर्याएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायलले कात्तिक ३० (अक्टोबर १७) का दिन आयोजना गरेको तिहार सांगीतिक साँझ बाट उठेको मुनाफा स्वरूप १० लाख रुपैयाँ नेपाल सरकारको पुनर्निर्माण खातामा जम्मा गरेको हो।
यस रकमको चेक इजरायलस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको पुनर्निर्माणका लागि इजरायलवासी नेपालीहरूको योगदानप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

देश निर्माणमा परदेशी नेपालीहरूको साझा भावना
एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरिले देशमाथि परेको संकटका घडीमा विदेशमा रहेका नेपालीहरू पनि राष्ट्रप्रति समान रूपले उत्तरदायी रहेको उल्लेख गर्दै अझ सशक्त रूपमा साथ दिन सबैलाई अनुरोध गरे।
सो विशेष साँगीतिक कार्यक्रमको आकर्षण चर्चित गायक शिव परियारको दमदार प्रस्तुति रहेको थियो। कार्यक्रममा सहभागीहरूले कला, संस्कृतिको उत्सवसँगै समाजसेवा र राष्ट्रप्रतिको उत्तरदायित्व जोडिएको यस कदमलाई “उदाहरणीय योगदान” का रूपमा प्रशंसा गरे।
राजदूतावासले भविष्यमा पनि इजरायलमा रहेका नेपाली समुदायसँगको सहयोग र समन्वय निरन्तर रहने विश्वास व्यक्त गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































